काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा २२०० बढी निजी सवारी साधनमा क्षति पुगेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज २३ गतेसम्म आन्दोलनका कारण क्षति पुगेको भन्दै ३ अर्ब ४१ करोड ६ लाख रुपैयाँ बराबरको मोटर बीमा दाबी परेको हो । कुल २२०६ वटा मोटर बीमा दाबी परेको प्राधिकरणले जनाएको हो ।
अझै दाबी पर्ने क्रम जारी रहेकाले रकम बढ्न सक्ने देखिएको छ । ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको मोटर बीमा दाबी परेकोमा हालसम्म २४ करोड ९१ लाख रुपैयाँ अग्रिम भुक्तानी दिइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कुल २३ अर्ब २२ करोढ रुपैयाँ बढीको बीमा दाबी परेको छ । १४ निजीवन र ३ लघु निर्जीवन बीमा कम्पनीहरूमा कुल ३०९९ दाबी परेको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै १९ अर्ब ६ करोड रुपैयाँ बराबरको ६५३ वटा सम्पत्ति बीमा दाबी परेको छ । त्यस्तै, ३८ करोड ३ लाख रुपैयाँ बराबरको १९० वटा इन्जिनियरिङ तथा ठेकेदार, १ करोड ६३ लाख रुपैयाँ बराबरको १२ वटा परिवहन र ३५ करोड ३७ लाख रुपैयाँ बराबरको ३८ वटा अन्य बीमा दाबी परेको छ ।
आन्दोलनका क्रममा सयौं संख्यामा सार्वजनिक तथा निजी भवन र हजारौं सवारी साधन लगायतमा तोडफोड र आगजनी भएको थियो ।
प्राधिकरणका अनुसार असोज २३ गतेसम्म सबैभन्दा धेरै बीमा दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । कम्पनीमा २९१ वटा पोलिसीबाट ५ अर्ब ६१ करोड ४४ लाख ४८ हजार रुपैयाँ बीमा दाबी परेको हो ।
त्यस्तै, दी ओरेन्टलमा ९७ वटा पोलिसीको ५ अर्ब २४ करोड, आइजीआइ प्रुडेन्सियलमा २०४ वटा पोलिसीको २ अर्ब ७६ करोड, शिखरमा ४३१ वटा पोलिसीको २ अर्ब ४० करोड, सगरमाथा लुम्बिनीमा ३३४ पोलिसीको १ अर्ब ६० करोड, नेकोमा २५६ पोलिसीको १ अर्ब १५ करोड र हिमालयन एभरेष्टमा २८९ पोलिसीको १ अर्ब ४ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
अरु ११ वटा कम्पनीमा भने १ अर्ब रुपैयाँभन्दा बढी दाबी परेको छ । जसमा ट्रष्ट माइक्रो इन्स्यारेन्समा सबैभन्दा कम ४४ लाख रुपैयाँको दाबी परेको छ ।

