काठमाडौं । जापानी ब्राण्ड सुजुकीले सन् १९७० मा पहिलो पटक उत्पादन गरेको जिम्नीले ठूला ठूला अफरोड भेहिकल भनिएका गाडी तानेको भिडियोहरू तपाईंले देख्नु भएको होला ।
फोर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध जिम्नी आजकल ट्रेन्डमा रहेको सफ्ट रोड र लग्जरी एसयूभी होइन । यो त क्लासिक डिजाइनमा तयार अफरोडको लागि उपयोगी मोडल हो ।
‘सिम्पल, टफ र मजेदार’ एसयूभीको रूपमा धेरैको मन र मस्तिष्कमा बस्न सफल जिम्नीका केही रोचक किस्साहरू हामीले यहाँ प्रस्तुत गरेका छौं ।
सुजुकीको योजना नै होइन : जिम्नी उत्पादनको कन्सेप्ट सुजुकीको होइन । होप मोटर कम्पनीले यसको कन्सेप्ट तयार पारेको थियो । सन् १९६८ मा सुजुकीले होप मोटर किनेको दुई वर्षपछि जिम्नीको उत्पादन थालेको थियो ।

मित्सुबिशीको इन्जिन : पहिलो मोडलमा (एलजे १०) मा कम्पनीले मित्सुबिशीले उत्पादन गरेको इन्जिन प्रयोग गरेको थियो । पछि गएर मात्रै सुजुकीको इन्जिन प्रयोग भएको हो । जापानमा उत्पादन भएको पहिलो फोर ह्वील ड्राइभ सिस्टम भएका गाडी पनि जिम्नी नै हो ।
‘माउन्टेन गोट’ उपनाम : जिम्नीलाई खतरनाक चट्टानहरूमा सजिलै ‘बाख्रा जस्तै’ उकाल्न सकिने भएको कारण माउन्टेन गोट भनिएको हो । छोटो ह्वीलबेस र हल्का वजनको कारण ६६८८ मिटर अग्लो चिलीको ओजोस डेल सालाडो हिमालमा चढेर फोर वाई फोर गाडीले चढेको सबैभन्दा अग्लो स्थानको विश्व रेकर्ड बनाएको थियो ।
धेरैको लागि खेलौना जस्तो : जिम्नी मोडिफाइ नगर्ने कमै उपभोक्ता हुन्छन् । उनिहरूले आफ्नो चाहना अनुसार यसमा ठूलो परिवर्तन गरेको पाइन्छ । यो बहु उपयोगी अफरोड मेसिन हो ।

विश्वभर बहुउपयोग : सुजुकीको जिम्नी देश अनुसार फरक काममा प्रयोग भएको पाइन्छ । अस्ट्रेलियामा ¥यालीको लागि धेरै प्रयोग हुन्छ । जापानमा सामान डेलिभरीको लागि हुन्छ । नेपाल जस्तो देशमा हिमाली क्षेत्रमा यात्रा गर्न प्रयोग हुन्छ । जिम्नी अहिले पनि विश्वका १९० भन्दा धेरै देशमा बिक्री हुन्छ । अहिलेसम्म विश्वभर ३० लाख जिम्नी बिक्री भएको मानिन्छ ।
के छ नेपालमा ?
नेपालमा सुजुकीको जिप्सी पहिल्यै थियो । जिम्नी भने आउन थालेको ४ वर्ष मात्रै भएको छ । सन् २०२२ मा सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले थ्री डोर जिम्नी ५ युनिट ल्याएको थियो ।

सन् २०२३ बाट भारतमा उत्पादन भएको पाँच ढोका भएको जिम्नी अहिले बिक्री हुँदै आएको छ । कम्पनीले पहिलो वर्ष ७२ युनिट जिम्नी ल्याएको थियो । त्यसपछि सन् २०२४ मा ४३ युनिट, सन् २०२५ मा २९ युनिट र २०२६ को मार्च १५ तारिखसम्म ७ युनिट जिम्नी नेपाल भित्रीएको भन्सार तथ्यांकमा देख्न सकिन्छ ।


