काठमाडौं । भियतनामी अटोमोबाइल कम्पनी भिनफास्टले भारतीय बजारमा नयाँ ७ सिटे ‘भीएफ एमपीभी ७’ सार्वजनिक गरेको छ । कम्पनीले एउटै भेरियन्टमा ल्याएको भीएफ एमपीभी ७ को मूल्य २४.४९ लाख भारु (३९ लाख नेपाली रुपैयाँ) तोकेर बिक्री सुरू गरेको हो ।
कम्पनीको भारतीय बजारका लागि यो तेस्रो मोडल हो । यसअघि भीएफ ६ र भीएफ ७ ई एसयूभी लन्च गरेको थियो ।
भीएफ एमपीभी ७ एमपीभीमा ६०.१३ किलोवाट आवरको ब्याट्री प्याक छ । जसले एकपटकको फुल चार्जमा ५१७ किलोमिटरको रेन्ज एआरएआइले प्रमाणित गरेको छ ।
यसमा फ्रन्ट एक्सल माउन्टेड इलेक्ट्रीक मोटर छ । जसले २०४ हर्षपावर र २८० न्युटन मिटर टर्क उत्पादन गर्छ । यो एमपीभीले ९ सेकेण्डभन्दा कम समयमा ० देखि १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन सक्छ ।
यो गाडीले ८० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसले ३० मिनेटमा ब्याट्रीलाई १० बाट ७० प्रतिशतसम्म चार्ज गर्न सक्छ । यसमा इको, नर्मल र स्पोर्ट गरी तीनवटा ड्राइभिङ मोडहरू र ब्रेक रिजेनेरेसनको सुविधा पनि दिइएको छ ।

यसको बाहिरी डिजाइन अन्य भिनफास्ट मोडलहरूबाट प्रेरित छ। अगाडिको भागमा स्लिम ओएलइडी लाइटबारहरू छन्, जुन भिनफास्टको लोगोमा जोडिएका छन् । यसमा भर्टिकल्ली राखिएका एलईडी प्रोजेक्टर हेडलाइटहरू र ब्ल्याङ्क्ड अफ ग्रिल रहेको छ।
छेउको भागमा १९ इन्चको एरोडायनामिक अलोय ह्वील, बडी कलरको मिरर र झ्यालको तल्लो भागमा क्रोम स्ट्रिप दिइएको छ। पछाडिको भागमा पनि अगाडिको जस्तै भिनफास्ट लोगोमा जोडिने गरी कनेक्टेड एलईडी टेललाइट बार, रूफ स्पोइलर र सार्कफिन एन्टेना राखिएको छ।
यसको लम्बाइ ४७४० एमएम, चौडाइ १८७२ एमएम, उचाइ १७३४ एमएम र ह्वीलबेस २,८४० एमएम छ । यसमा १२६ लिटरको बुट स्पेस पाउन सकिन्छ ।

यसको इन्टेरियर ब्ल्याक र ब्राउन वा अल ब्ल्याक थिममा उपलब्ध छ । यसमा लेदर प्रयोग गरिएका ७ वटा सिटहरू छन् ड्यासबोर्डमा १०.१ इन्चको ठूलो टचस्क्रीन छ । जसले इन्फोटेनमेन्ट, टेम्पेचर कन्ट्रोल र स्पिडोमिटरको काम गर्दछ। यसमा वायरलेस फोन चार्जर, कप होल्डर र सामान राख्ने सानो ठाउँ पनि छ ।
यसमा ६ वटा एयरब्याग, रियर पार्किङ क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल होल्ड असिस्ट र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुविधाहरू छन्। यद्यपि, सनरुफ, ३६० डिग्री क्यामेरा र एडास जस्ता आधुनिक फिचर भने छैनन् । कम्पनीले गाडीमा ७ वर्ष र ब्याट्रीमा १० वर्षको वारेन्टी दिएको छ ।
भिनफास्टको यो एमपीभी सम्भवतः नेपाली बजारमा पनि आउन सक्छ । कम्पनीले यसअघि नै आधिकारिक बिक्रेता समेत नियुक्त गरिसकेको छ ।

