काठमाडौं । जगदम्बा मोटर्स कम्पनीले टीभीएसका मोटरसाइकल तथा स्कुटर नेपालमा नै उत्पादन सुरु गर्ने भएको छ । कम्पनीले आगामी एक महिना भित्रै नेपालमा टीभीएसको उत्पादन सुरु गर्ने भएको हो ।
बारामा बनिरहेको प्लान्ट निर्माण सम्पन्न भएको छ भने, त्यहाँ लगाउने पर्ने उपकरण, गोदाम र एसेम्बल प्लान्ट निर्माणको काम पुरा भएको छ । उक्त प्लान्टबाट कम्पनीले सुरुमा केही मोडल उत्पादन गर्नेछ भने, त्यसपछि क्रमिकरुपमा उत्पादन बढाउँदै लाने योजना तयार पारेको छ ।
‘अबको एक महिना भित्र केही मोडलको उत्पादन सुरु गर्छौ, त्यसपछि सबै मोडल र तीनपाँग्रे सवारीपनि बनाउने छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भने ।
करिब एक वर्षअघि नै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएसको उत्पादन नेपालमा गर्नेगरी काम भइरहेको जानकारी दिएका थिए । अब भने ढिलोमा २०२० जनवरी महिनाबाट नेपालमा टीभीएसका उत्पादन एसेम्बल हुन सुरु हुने छन् ।
जगदम्बा मोटर्सले सन् २०१५ बाट टीभीएसको बिक्री वितरण गर्दै आइरहेको छ । निकै आक्रमकरुपमा बजार बिस्तार गरिरहेको कम्पनीले अबको एक महिनापछि नेपालमै एसेम्बल गरिएको मोटरसाइकल बिक्री सुरु गर्नेछ ।
कम्यूटर सेग्मेन्ट र २०० सीसी क्षमतासम्मको सेग्मेन्टमा कम्पनीले निकै राम्रो बिक्री गरिरहेको कम्पनीले स्कुटर सेग्मेन्टमा समेत निकै बिक्री बढाउन सफल भएको छ ।
विशेषगरी अपाचे १६० फोर भी र २०० फोर भीले युवालाई आकर्षित गरिरहेको छ भने एनटर्क १२५ र जुपीटर क्लासिक स्कुटरले पनि ग्राहकको ध्यान खिच्न सफल भएको छ ।
नेपालमै बन्दा मूल्यमा कति फरक ?
अहिलेको अवस्थामा नैपालमै मोटरसाइकल उत्पादन हुँदा केही मूल्य सस्तो पर्नु स्वाभाविक हुने कम्पनीले जनाएको छ । तर, त्यति धेरै मूल्यमा फाइदा लिन नसकिएपनि नयाँ रोजगारी र केही भ्यालुएड गर्न सकिने कम्पनीको दाबी छ । यसले समग्र हाम्रो औद्योगिक प्रक्रियामा भने सहयोग गर्नेछ ।


