नेपालमा जापनिज कारको विकल्प बन्नबाट कहाँ चुक्दैछन् यूरोपियन ब्राण्ड

काठमाडौं । नेपालमा कारको व्यवसायिक सुरुवात जापानी उत्पादन टोयोटा र होन्डाबाट भएको विगत देखिन्छ । जापनिजसँगै यूरोपियन ब्राण्ड ओपेल, फियात र अमेरिकी ब्राण्ड फोर्ड नेपाल आएको थियो । तर, त्यति बेला नेपाल आएका फोर्ड र फियात लामो समय नेपाल टिक्न सकेनन् । पछि फोर्ड र फियात नयाँ डिलरसिप सहित नेपाल आए भने ओपेल सन् २००७ तिरबाट पूर्णरूपमा बन्द भयो ।

उसोत नेपालमा राणा शासकहरूले ल्याएका कार कुन ब्राण्डका थिए भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन । तर, जर्मन तानाशाह हिटलरले उपहार स्वरुप राजा त्रिभुवनलाई दिएको कार भने यूरोपियन ब्राण्ड मर्सिडिज बेञ्चको लेफ्ट ह्याण्ड ड्राइभ सिस्टम जडान भएको कार थियो ।

माथि उल्लेखित प्रसंगले पनि नेपालमा यूरोपियन ब्राण्ड दह्रोसँग स्थापित हुन नसकेको देखाउँछ । तर, जापानी उत्पादनमा टोयोटा, निसान, सुजुकी, माज्दा, होन्डा, सुबरु जस्ता ब्राण्डहरू नेपालमा सदाबहार चल्तीमा रहे । जापानी उत्पादन टिकाउ, भरपर्दो र विश्वसनीय रहेकै कारण पैसा भएका मानिसको छनोटमा पर्न सफल भएको विगतले देखाउँछ । पैसा कम भएका मानिसले पनि इन्डो जापनिज ब्राण्ड मारुती सुजुकीको प्रयोग गरेर आफ्नो गाडीको आवश्यकता पूरा गरे, जुन अहिले पनि चल्तीको ब्राण्डको रूपमा स्थापित रहेको छ ।

जापानी उत्पादनको विकल्प बन्दै यूरोपियन ब्राण्ड

कुनै समय जापानी उत्पादनमा केन्द्रीत नेपाली ग्राहक अहिले यूरोपियन ब्राण्डलाई विकल्पको रूपमा लिन थालेका छन् । विशेषतः युवा ग्राहकले जापानी कारको विकल्पमा यूरोपियन ब्राण्डमा आफूलाई अभ्यस्थ बनाउँदै लगेको आकलन गर्न कठिन छैन ।

अहिले नेपालमा चेक ब्राण्ड स्कोडा, जर्मन ब्राण्ड फक्सवागन, मर्सिडिज र बीएमडब्ल्यू, फ्रेन्च ब्राण्ड प्यूजो, रेनो र सिट्रोनका उत्पादन नेपाल आउन थालेका छन् । यी मध्ये सिट्रोनको विक्री भने सुरु भइसकेको छैन । त्यसमा पनि स्कोडा, रेनो र फक्सवागनले यूरोप र भारतमा उत्पादन भएका कारहरू ल्याएर विक्री गर्दै आएका छन् ।

यूराेपियन ब्राण्ड

अटो क्षेत्रका जानकारहरू भन्छन्, ‘अहिले भारतमा उत्पादन भएका यूरोपियन ब्राण्डको प्रतिस्पर्धा टोयोटा र होन्डा जस्ता कम्पनीसँग छैन । भारतीय उत्पादनको प्रतिस्पर्धा हुन्डाई, मारुती सुजुकी, टाटा जस्ता ब्राण्डसँग नै हो । तर, यूरोपमा बनेर आएका गाडीले भने टोयोटा र होन्डासँग राम्रै प्रतिस्पर्धा गरिरहेका छन् ।’

कुनैपनि मोटर विक्रेता कम्पनीले दिने विक्रीपछिको सेवा महत्वपूर्ण हुने गर्छ । यस विषयमा धेरै यूरोपियन ब्राण्डको कमजोरी रहेको देख्न सकिन्छ । राम्रो र उच्चस्तरको शोरुम नहुनु, सर्भिस सेन्टरको संख्या न्यून रहनु र स्पेयर पार्टस्को उपलब्धता कमजोर हुनुले यूरोपियन ब्राण्डलाई बजारमा स्थापित अझै कठिन रहेको विज्ञहरूको भनाइ छ ।

प्यूजो र मर्सिडिज जस्ता कम्पनीहरू अहिले पनि ३०/४० वर्ष पहिले टोयोटा र होन्डाले विक्रीको लागि अपनाएको रणनीतिमा रहेका छन् । यसले यी कम्पनीहरूलाई बजारमा स्थापित हुन कठिनाइ हुने धेरैको तर्क रहेको छ ।

यूरोपियन र जापानी कारमा कति फरक

यूरोपियन ब्राण्ड आरामदायी कारको लागि विश्वमा चर्चित रहेका छन् भने जापानी कारहरू टिकाउ, कम खर्च र विश्वनियताको लागि परिचित रहेका छन् । यस्तोमा ग्राहकले आफ्नो रुची के हो र कस्तो गाडी किन्ने भन्ने विषयमा निर्णय लिने गर्छन् ।

जापनिज ब्राण्ड

जापानी उत्पादन जस्तोसुकै बाटोमा पनि सहजै गुडाउन सकिनेगरी डिजाइन गरिएका हुन्छन् भने, यूरोपियन कार सहरी क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरिएका हुन्छन् । प्रविधिमा यूरोपियन कार हाइटेक हुन्छन् । प्रविधिकै कारण धेरै यूवाहरू यूरोपियन ब्राण्ड तिर आकर्षित भइरहेका छन् । विश्व अटोमोबाइलमा बलियो पकड बनाएको टोयोटा, होन्डा, माज्दा, सुबरु जस्ता कम्पनीले यही कुरालाई ध्यानमा राखेर पछिल्ला दिनमा प्रविधिको प्रयोग बढाउँदै लगेको देख्न सकिन्छ ।

यूरोपियन ब्राण्डको कमजोरी रिसेल मूल्य

यूरोपियन ब्राण्डले नेपालमा सर्भिससँगै त्यसको रिसेल मूल्यमा पनि काम गर्नु पर्ने देखिन्छ । कुनै पनि मानिसले भनेको समयमा आवश्यक पार्टस् पाउन सकेन भने उसको गाडी महिनौं थन्कने अवस्था हुन्छ । त्यसपछि उसलाई त्यो गाडी प्रतिको मोहनै भंग हुन्छ ।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक यूरोपियन कारका ग्राहक भन्छन्, ‘मसँग फक्सवागन टोरेक थियो । एक पटक बिग्रिएपछि ३ महिना गाडी थन्काउनु पर्ने, कम्पनीले पार्टस् नल्याउने, सधैं तनावमा बस्नु पर्ने भएपछि मैले किनेको भन्दा १ करोड कममा त्यो गाडी बेचेँ, अहिले जापानी ब्राण्ड चढ्छु ।’

उनको भनाइले केही समय केही यूनिट गाडी विक्री गर्नु ठूलो कुरा नभएको तथ्यलाई देखाउँछ । यदि आफ्नो ब्राण्डलाई नेपालमा विश्वसनीय बनाउनु छ भने सबै किसिमका सुविधा ग्राहकलाई उपलब्ध गराउनु पर्ने हुन्छ । यसमा धेरै यूरोपियन ब्राण्ड चुकेका छन् ।


Back_to_top