कावासाकीले सस्तो मोटरसाइकल ल्याउने, नेपाल आउला कावासाकी ब्राण्ड ?

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी कावासाकीले नयाँ मोटरसाइकल भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले रेट्रो डिजाइन मिडवेट क्रुजर मोटरसाइकल सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले कावासाकी डब्ल्यू १७५ छिट्टै नै भारतीय बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसअघि यो मोटरसाइकल धेरै पटक परीक्षणको क्रममा सडकमा देखिएको छ । कम्पनीले यसलाई फेस्टिभ सिजनमा बजार उतार्ने अनुमान गर्न सकिन्छ ।

केही समय अगाडि मात्रै यामाहाले लाइट वेट क्रुजर सेग्मेन्टमा यामाहा एफजेडएक्स सार्वजनिक गरेको थियो । कावासाकी डब्ल्यू १७५ ले यामाहा एफजेड एक्स र रोयल इन्फिल्ड क्लासिक ३५० सेग्मेन्टको बीचमा आफूलाई प्रर्दशन गर्नेछ ।

कावासाकी डब्ल्यू १७५को मूल्य १ लाख ७० हजार (एक्स सोरुम) भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । योसँगै कावासाकीको सबैभन्दा सस्तो मोटरसाइकल यही हुनेछ ।

यो मोटरसाइकलमा १७७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड एफआई इन्जिन रहेको छ । यसले १३ हर्सपावर तथा १३.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा डिजिटल इन्स्टुमेन्ट कल्स्टर, सिंगल च्यानल एबीएस, डबल डिस्क ब्रेक जस्ता फिचर रहको छ ।

भारतीय बजारमा सार्वजनिक भएसँगै कावासाकी नेपाली बजारमा भित्रने सम्भावना रहेको छ । कावासाकी नेपाली बजारमा लामो समयसम्म विक्री भएको ब्रान्ड हो । हाल भारतीय बजारमा डबल सिलिन्डर इन्जिन मोटरसाइकल मात्र उपलब्ध रहेको कारण कावासाकी ब्रान्ड नेपाल कसैले ल्याएको थिएन ।

पछिल्लो समय नेपाली बजारमा रेट्रो लुक क्रुजर मोटरसाइकल विक्री बढ्दो क्रममा रहेको छ ।


Back_to_top