काठमाडौं । नेपालमा इलेक्ट्रीक सवारीसाधनको आयात बढ्न थालेको छ । सरकारले कम्बस्चन इन्जिनयुक्त गाडीमा अटो लोनमासमेत कडाई गरेसँगै गाडी बिक्रेता कम्पनीहरु इलेक्ट्रीक कार आयातमा लागि परेका छन् ।
विगत लामोसमयदेखि नेपाली बजारमा कियाको शोल ईभी बिक्री वितरण गर्दै आएको कन्टिनेन्टल्स प्रालिले कियाको नयाँ कम्प्याक एसयूभी निरो नेपाली बजारमा ल्याउने तयारी सुरु गरेको छ ।
किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा दिइएको १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम–टर्क उत्पादन गर्छ । यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको रफ्तार पकड्न सक्ने कम्पनीले दाबी गरेको छ ।

कम्बाइन चार्चिङ सिस्टम अगाडिको ग्रिलमा दिइएको यो इलेक्ट्रीक एसयूभी डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्ने छ भने, उक्त चार्जले ३०७ किलोमिटर गुडाउन सकिने छ । फुल चार्जमा भने उक्त गाडीले ४८० किलोमिटर माइलेज दिनेछ । यो गाडीको नेपाली बजारमा प्रबेशपछि निरो सर्वाधिक माइलेज दिने ईभीमा पर्नेछ ।
कम्पनीले निरोलाई एसियाली बजारमा २०१९ को पहिलो क्वाटरबाट बिक्री वितरण सुरु गर्ने तयारी गरे अनुरुप नेपाली बजारमा अप्रिल पहिलो हप्ताबाट बिक्री वितरण गर्ने तयारी गरिरहेको छ ।

