इलेक्ट्रीक कारधनीको रोजाईमा किया निरो पहिलोः जेडी पावर

काठमाडौं । जेडी पावर कम्पनीले गरेको इलेक्ट्रीक कारधनी बीचको सर्भेले किया निरो इलेक्ट्रीक एसयूभी पहिलो स्थानमा परेको छ ।

जेडी पावरले गरेको सर्भेमा मास–मार्केट ब्राण्डहरु मध्ये कियाले उत्पादन गरेको निरो प्रति ग्राहकको विश्वास सबैभन्दा माथि रहेको देखाएको हो । विद्युतीय गाडी चालकको अनुभव लिएर तयार पारिएको यो सर्भेले ग्राहकको सन्तुष्टीलाई केन्द्रमा राखेको जनाइएको छ ।

जेडी पावरका सिनियर डाइरेक्टर ब्रेन्ट ग्रुबरले रिपोर्ट सार्वजनिक गर्दै भने, ‘हामीले यो रिपोर्टमा ग्राहकको सन्तुष्टीलाई मुख्य आधार बनाएका छौं । हामी यो रिपोर्ट सार्वजनिक गर्न पाउँदा निकै खुसी छौं । किया निरोले आफ्ना धेरै ग्राहकलाई सन्तुष्ट बनाउन सकेको हाम्रो रिपोर्टले देखाएको छ ।’

कोरियन कार निर्माता कम्पनी किया र हुन्डाईले उत्पादन गरेका विद्युतीय कारले ग्राहकलाई निकै सन्तुष्ट बनाएको जेडी पावरले देखाएको छ । ‘हुन्डाई कोनापछि बजारमा आएको किया निरोको लोकप्रियता मास–मार्केट ब्राण्ड प्रति ग्राहकले देखाएको अभुतपूर्व स्नेह हो’ रिपोर्टमा उल्लेख छ ।

प्रिमियम ब्राण्डमा भने टेस्लाका कारहरु अग्रपंतिमा रहेका छन् । यस रिपोर्टमा जेडी पावरले १० हजार विद्युतीय कार चालकसँग प्रत्येक्ष कुराकानी गरेको जनाएको छ । यसमा मुख्यत गाडीको रेञ्ज, संचालन लागत र चालकको अनुभूतीलाई प्राथमिकतामा राखिएको थियो ।

जेडी पावरको रिपोर्टले आगामी २०२५ सम्ममा ठूलो परिमाणमा विद्युतीय कार उत्पादन गर्ने लक्ष्य लिएर लगानी गरिरहेको कियालाई उत्साहित बनाएको छ । किया निरो नेपालमा पनि विक्री वितरण हुँदै आएको एसयूभी हो ।


Back_to_top