काठमाडौं । कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले निरो ईभीको स्टायडर्ड मोडल नेपाल ल्याउने भएको छ । यसअघि कम्पनीले टप भेरियन्ट निरो नेपाल ल्याएको थियो ।
‘पहिला ठूलो मोटर र ब्याट्री क्षमतामा निरो नेपाल ल्याएका थियौ । ग्राहकले निकै रुचाउनु भएको थियो । सरकारले १०० किलोवाटभन्दा ठूलो मोटर भएको गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क दुबै बढाएपछि निरोको मूल्य ९० लाख हाराहारी पर्ने अवस्था आयो । त्यसैले १०० किलोवाट क्षमताको मोटरमा निरो ल्याउने तयारी गरेका छौं’, कन्टिनेन्टल स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले यसअघि ६४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाट क्षमताको मोटरमा निरो नेपाल ल्याएको थियो । संख्यात्मक हिसावले पनि निरोको विक्री निकै राम्रो रहेको थियो ।
अब कम्पनीले नेपाल ल्याउन लागेको निरोमा ३९.२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ भने १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । निरोमा प्रयोग भएको ब्याट्री र मोटर दुबै हुन्डाई कोनाबाट लिइएको हो । त्यसैले नयाँ निरोको मूल्य पनि कोनाको हाराहारीमा नै हुनेछ । सम्भवत कम्पनीले निरोको मूल्य ६० लाख रुपैयाँ निर्धारण गरेर विक्री सुरु गर्नेछ ।
किया निरोमा रहेको ३९.२ किलोवाट आवरको ब्याट्रीलाई एक पटक फुल चार्जगर्दा ३०० किलोमिटर माथि रेन्ज प्रदान गर्नेछ । निरोको लम्बाई ४३७५ एमएम, चौडाई १८०५ एमएम र उचाई १५६० एमएम रहेको छ । यसमा २७०० एमएमको ह्वीलवेस दिइएको छ । सानो ब्याट्री साइजमा आउने निरो पनि कोरियामा उत्पादन भएर आउने छ ।
यसको इन्टेरियर र एक्सटेरियर भने यसअघि बजारमा उपलब्ध निरोको जस्तै समान रहेको छ । यसको मुख्य फरक भनेकै ब्याट्री र मोटर साइज मात्रै हो । निरोको स्टायडर्ड मोडल दशैंपछि नेपाल आउने छ ।


