काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले विद्युतीय गाडी विक्रीमा ठूलो सफलता हात पारेको छ । कम्पनीले जुलाई २०२२ को एक महिनामै १ लाख ६२ हजार ५३० यूनिट विद्युतीय गाडी विक्री गर्न सफल भएको हो ।
कम्पनीले जुलाई २०२२ मा गरेको विक्री अघिल्लो वर्षको यसै महिनाको तुलनामा १८३.१ प्रतिशतले बढी हो । यो विक्री आँकडा न्यू इनर्जी भेहिकलको मात्र हो । बीवाइडीको विक्री तथ्यांकमा ब्याट्री इलेक्ट्रीक भेहिकल र प्लगइन हाइब्रिड भेहिकल समावेस छन् । जुलाईमा कम्पनीले ब्याट्री इलेक्ट्रीक भेहिकल ८० हजार ९९१ यूनिट र प्लगइन हाइब्रिड इलेक्ट्रीक भेहिकल ८१ हजार २२३ यूनिट विक्री गरेको हो ।
योसँगै सन् २०२२ को ७ महिनामा बीवाइडीले ८ लाख ८ हजार ९२९ यूनिट विद्युतीय सवारी साधन विक्री गर्न सफल भएको देखिन्छ । यो गत वर्षको ७ महिनाको विक्रीको तुलनामा १६६.१ प्रतिशतले बढी हो । त्यसमा पनि ब्याट्री इलेक्ट्रीक भेहिकलको मात्र तुलना गर्ने हो भने करिब ३०० प्रतिशतले बढेको हो ।
गतवर्ष १ लाख १८ हजार ४३६ यूनिट मात्रै पूर्ण इलेक्ट्रीक कार विक्री गरेको कम्पनीले वर्षको ७ महिनामा भने ४ लाख ४ हजार ५१० यूनिट विक्री गरेको छ ।
विश्वका चर्चित सेयर लगानीकर्ता वारेन वफेटको समेत लगानी भएको यो कम्पनी हालै मात्र फर्चून ग्लोबल ५०० मा पर्न सफल भएको छ । अहिले बीवाइडीको न्यू इजर्नी भेकिकल विश्वका ७० देशका ४०० सहरहरुमा विक्री भइरहेका छन् । गत जुलाई २१ मा मात्र बीवाइडीले जापानको प्यासेन्जर भेहिकल मार्केटमा समेत प्रबेश गरेको थियो ।

