किया सेल्टोस एकै दिन ६ हजार भन्दाबढी बुकिङ, यस्तो छ खास विशेषता

किया मोटर्सले भारतमा उत्पादन गरेको एसयूभी सेल्टोसको बुकिङ एकै दिन ६ हजारभन्दा बढी भएको छ । कम्पनीले सेल्टोसको प्रि–बुकिङ मंगलबारबाट खुलाएकोमा पहिलो दिन नै ६ हजार ४६ वटा बिक्री भएको हो । 

कियाले १६ जुलाईमा १ सय ६० डिलर तथा अनलाईनबाट बुकिङ लिने व्यवस्था गरेको थियो । अनलाईन बुकिङ १ हजार ६ सय २८ वटा भएको कम्पनीले जनाएको छ । 

२५ हजार भारु तिरेर किया मोटर्सले बुकिङ खुल्ला गरेको थियो ।  किया एसपी–२ आई कन्सेप्टमा निर्माण भएको सेल्टोस किया सोलभन्दा केही ठूलो र स्पोर्टेजभन्दा केही सानो रहेको छ । 

यो गाडीमा टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, एलइडी फग ल्याम्प, पुल टाइप डोर ह्यान्डललगायतका विशेषता रहेका छन् । ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, इन कार वाइफाइ जस्ता सेगमेन्ट फस्ट विशेषताले सेल्टोस चर्चामा रहेको छ ।

विभिन्न आठ वटा भेरियन्टमा आएको सेल्टोसमा उपलब्ध १.५ लिटर पेट्रोल र डिजेलका साथै १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा पनि उपलब्ध हुने छ । बीएस–६ मापदन्ड अनुरुपको इन्जिन रहेका गाडी अटोमेटिक र म्यानुयल दुबै ट्रान्समिसनमा उपलब्ध हुनेछ ।  

यो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडजस्ता विशेषता रहेका छन् ।

किया सेल्टोसको प्रतिस्पर्धा हुन्डाई क्रेटा, एमजी हेक्टरलगायतसँग हुने अनुमान गरिएको छ । 


Back_to_top