भारतमा बनेको कियाको पहिलो एसयूभी सेल्टोस सार्वजनिक भएको छ । कियाले यो कार २०१८ को अटो एक्सपोमा एसपी कन्सेप्टको रुपमा प्रदर्शनी गरेको थियो । कियाले भारतमा २०२२ सम्ममा हरेक ६ महिनामा एउटा नयाँ कार सार्वजनिक गर्ने नीति नै बनाएको जनाएको छ ।
सोही नीति अनुरुप कम्पनीले प्रतिक्षित एसयूभी सेल्टोस सार्वजनिक गरेको हो । कियाको आन्द्र प्रदेशमा रहेको प्लान्टबाट सेल्टोस उत्पादन हुनेछ । उक्त प्लान्टको वार्षिक उत्पादन क्षमत ३ लाख यूनिट रहेको छ ।
कियाको नयाँ एसयूभी सेल्टोसले टाटा ह्यारियर, हुन्डाई क्रेटा, जीप कम्पाससँग प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ ।
यो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् ।
यो एसयूभीमा १७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुने छ ।
नेपाली बजारमा किया मोटर्सका उत्पादन सिधै कोरियाबाट ल्याएर बिक्री वितरण हुँदै आएकोमा अब भारतीय उत्पादन समेत आउने कियाको आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले जानकारी दिएको छ ।
‘आज मात्रै भारतमा सार्वजनिक भएको छ । अबको केही दिनमा कहिले नेपाल आउने छ भन्ने कुराको टुङ्गो लाग्ने छ’ कन्टिनेन्टल्स स्रोतले भन्यो ।

