पेट्रोल इन्जिन किया सोनेटको फेरी बढ्यो मूल्य

काठमाडौं । कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले किया सोनेटको मूल्य बढाएको छ । कम्पनीले केही समयअघि मात्रै सोनेटको मूल्य बढाएको हो ।

कम्पनीले विक्री गर्दै आएको मध्ये एउटा मात्रै मोडलको मूल्य बढाएको हो । कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले सोनेटको एचटीई पेट्रोल भेरियन्टमा १ लाख रुपैयाँले मूल्य बढाएर ३७ लाख ९० हजार रुपैयाँ बनाएको हो ।

यसअघि एचटीई पेट्रोल भेरियन्टको मूल्य ३६ लाख ९० हजार रुपैयाँ थियो । कियाले आफ्नो चार मिटरभन्दा छोटो एसयूभीको डिजेल भेरियन्टमा भने मूल्य बढाएको छैन । डिजेल भेरियन्ट एचटीएक्सको मूल्य ५१ लाख ९० हजार, एचटीएक्स अटोमेटीकको मूल्य ५५ लाख ९० हजार र जीटीएक्स प्लस भेरियन्टको मूल्य ५९ लाख ९० हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

यस्तो छ सोनेट

किया सोनेट निकै एग्रेसीभ लुक्समा तयार भएको सानो एसयूभी हो । यसमा दिइएको रुफरेल, स्कीड प्लेट, बडी क्याडलिङको साथमा १५ र १६ इन्चको ह्वील यसको सबल पक्ष मानिन्छ ।

सोनेटको लम्बाई ३९९५ एमएम, चौडाई १७९० एमएम र उचाई १६१० एमएम पाउन सकिन्छ । यसमा २५०० एमएमको ह्वीलवेस र २१० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

५ जनाले आरामदायी यात्रा गर्न सक्ने यो एसयूभीमा ४५ लिटर क्षमताको इन्धन ट्याङ्की, ३९२ लिटरको बुट स्पेश दिइएको छ ।
सोनेटमा अगाडि म्याकफर्सन स्ट्रुटको साथ क्वील स्प्रीङ र पछाडि कप्पल्ड टोर्सन बीमको साथ क्वील स्प्रीङ सस्पेन्स रहेको छ । पावर स्टेरिङ र ५।१ मिटर टर्निङ रेडिएस यसमा पाउन सकिन्छ ।

एसयूभीमा सुरक्षाको लागि एयरव्याग, ८० किलोमिटरको स्पीडमा अर्लट बीप र १२० किलोमिटरको स्पीडमा निरन्तर बीप दिइएको छ । यसले चालकलाई सचेत गराउने छ । सिटवेल्ट वार्निङ, इबीडी सहितको एबीएस, ब्रेक एसिस्ट जस्ता फिचर यसमा रहेको छ । साथै, इन्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ, स्पीड सेन्सीङ डोर लक, चाइल्ड सेफ्टी लक जस्ता फिचर पनि पाउन सकिन्छ ।

आरामदायी यात्राको लागि एसयूभीमा म्यानुयल एसी, हिटर, रियर पार्किङ सेन्सर, हेडलाइट र इग्नीसन अन रिमाइन्डर, स्टेरिङ एड्जस्टमेन्ट जस्ता फिचर छन् । फेब्रिक सिट, प्यासेन्जर बेञ्च सिट, कालो कलरमा सिंगल टोन इन्टेरियर, कप होल्डर, पावर विन्डो दिइएको छ ।


Back_to_top