भोलिबाट बजारमा आउँदै नयाँ जेनेरेशन अल्टो, थाहापाउनुस् ५ तथ्य

काठमाडौं । मारूती सुजुकीको अल्टो के १० भोलि सार्वजनिक हुने भएको छ । इन्डो जापानी ब्राण्डले लामो समयपछि यसको नयाँ जेनेरेशन मोडल बजारमा ल्याउन लागेको हो ।

यसअघि नै विभिन्न समयमा परिक्षणको क्रममा देखिएको मारुती सुजुकी अल्टो के १० पहिलेको तुलनामा निकै परिस्कृत भएर आउन लागेको हो । झट्ट हेर्दा मारुती सुजुकी सेलेरियो जस्तै देखिने यो कार इन्ट्री लेभल ह्याचब्याक सेग्मेन्टमा आउन लागेको हो ।

१. इन्जिनः धेरै माइलेज दिने कार उत्पादनमा अग्रणी कम्पनी मारुती सुजुकी साना इन्जिन भएका गाडी उत्पादनमा पनि अब्बल मानिन्छ । जापानमा साना कार उत्पादनमा महारथ हासिल गरेको सुजुकिले भारतमा पनि अल्टो, सेलेरियो, एसप्रेसो, वागेनआर, स्वीफ्ट, इग्नीस जस्ता मोडलमा १.२ लिटरभन्दा सानो क्षमताको इन्जिन प्रयोग गर्दै आएको छ ।

सुजुकीले नयाँ जेनेरेशन के १० लाई ९९९ सीसी इन्जिनमा ल्याउने छ । उक्त इन्जिनले ६७ पीएस पावर प्रदान गर्छ ।

२. इन्टेरियरः सार्वजनिक भएको तस्विरलाई आधार मान्ने हो भने नयाँ के १० को मुख्य परिमार्जन नै क्यावीनमा देखिन्छ । यसको क्याविन पहिलेभन्दा फराकिलो छ । साथै ड्यासबोर्ड निकै फरक डिजाइनमा सजिएको छ ।

नयाँ इन्ट्रुमेन्ट क्लष्टर, नयाँ स्टेरिङ ह्वील, नयाँ सिट, स्टाइलिस एसीभेन्ट, पछाडिको यात्रुको लागि पनि निकै सहज बनाइएको सिटको कारण पहिलेको तुलनामा निकै उत्कृष्ट क्याविन यसमा पाउन सकिन्छ ।

३. एक्सटेरियरः यसको बाहिरी बनोटमा पनि ब्यापक परिमार्जन देख्न सकिन्छ । धेरैहदसम्म नयाँ सेलेरियोबाट प्रभावित रहेको के १० हार्टटेक प्लेटफर्ममा तयार भएको हो ।

नयाँ के १० को अगाडिको भागमा पनि व्यापक परिवर्तन पाउन सकिन्छ । नयाँ हेडल्याम्प, ठूलो फ्रन्ट ग्रिल, अगाडि र पछाडिको रिभाईज बम्पर, नयाँ टेललाइट, नयाँ बडी डिजाइन यसको मुख्य विशेषता हुन् ।

४. सुरक्षा र नयाँ फिचरः मारुती सुजुकीले बजेट कार खोज्नेको आवश्यकता पुरा गर्न यसमा कुनै कसर बाँकी नराखेको अनुमान गरिएको छ । ठूलो स्मार्ट प्ले स्टुडियो यसमा दिएको छ । यो टचस्कृनमा एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्ट हुनेछ ।

यसका अलावा अगाडि दुई एयरव्याग, इबीडी सहितको एबीएस जस्ता फिचर रहने छन् । जसले पहिलेको तुलनामा अल्टोलाई थप सुरक्षित बनाउने छ ।

५. मूल्यः यसअघि नेपालमा २२ लाख रुपैयाँसम्म मूल्य तोकेर विक्री हुँदै आएको के १० को नयाँ जेनेरेशन मोडलको मूल्य पनि त्यो भन्दा केही मात्रै बढी हुने अपेक्षा गरिएको छ ।


Back_to_top