काठमाडौं । सवारी साधन खरिदका लागि सस्तो ब्याजदरमा कर्जा दिन बैंकहरू बीच चर्को होडबाजी चलेको छ ।
बैंकिङ प्रणाली अधिक तरलता कायम रहेको र सवारी साधन खरिद बिक्रीको सिजन सुरू भएकाले बैंकहरूले निकै सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेका हुन् ।
अटो कुम्भ मेला नाइमा मोबिलिटी एक्स्पो आइतबार मात्रै सकिएको छ भने आगामी सातादेखि नाडा अटो शो सुरू हुँदैछ । साथै, फेस्टिभ सिजन नजिकिएकाले सवारी साधनको खरिद बिक्री बढ्छ । त्यसैलाई लक्षित गर्दै एकपछि अर्को बैंकले सस्तो ब्याजदरको अटो लोन योजना ल्याइरहेका हुन् ।
यसैक्रममा, सरकारी स्वामित्वको नेपाल बैंकले सुरूआती ५ प्रतिशत ब्याजदरमै अटो लोन उपलब्ध गराउने भएको छ । सम्भवतः बैंकले ल्याएको यो योजना नेपाली बैंकिङ इतिहासकै सबैभन्दा सस्तो अटो लोन हो । यसअघि ग्लोबलले ५.२५ प्रतिशत ब्याजदरको अटो लोन स्कीम ल्याएको थियो ।
नेपाल बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले सवारी खरिदका लागि ६० प्रतिशतसम्म कर्जा पाउने छन् । यस्तो कर्जा ग्राहकको आवश्यकता अनुसार ५ वा ७ वर्षसम्मका लागि उपलब्ध गराइने बैंकले जनाएको छ ।
ग्राहकले देशभरका सम्पूर्ण शाखाबाट अटो कर्जा पाउने छन् । आवश्यक कागजी प्रक्रिया पूरा गर्ने बित्तिकै कर्जा स्वीकृत हुने बैंकले जनाएको छ ।
साथै, ग्राहकले बैंकबाट फिक्स्ड ब्याजदरमा पनि अटो कर्जा पाउने छन् । अटो कर्जा कर्जा लिन व्यक्तिको हकमा ऋणी र जमानीको फोटो, नागरिकता वा राहदानी, नाता प्रमाण पत्र, विवाह दर्ता, आम्दानी स्रोत, प्यान कार्ड लगायत कागजात चाहिन्छ ।
संस्थाको हकमा दर्ता प्रमाणपत्र, प्यानरभ्याट प्रमाणपत्र, प्रबन्धपत्र/नियमावली, कर चुक्ता प्रमाणपत्र लगायत आवश्यक पर्नेछ ।


