काठमाडौं । यही भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा यस वर्षको दोस्रो अर्थात् ‘नाडा अटो शो २०२६’ आयोजना हुँदैछ । नाइमा मोबिलिटी एक्स्पो सकिएको एक सातापछि नै अर्को अटो शो हुन् लागेको हो ।
नाइमा अटो शोमा नयाँ प्रोडक्ट लन्चको बाढी लागेको थियो । दुईपाँग्रे/चारपाँग्रे र कमर्शियल ब्राण्डहरूले ४ दर्जन बढी नयाँ मोडल लन्च गरेका थिए । नाइमामा जस्तै नाडा अटो शोमा पनि धेरै नयाँ मोडल लन्च हुने छन् ।
यस वर्षको नाडा अटो शोमा ५१ ब्राण्डले सहभागिता जनाउँदै छन् । नाडा मार्फत नै केही नयाँ ब्राण्ड नेपाल प्रवेश गर्दैछन् । नाडामा सहभागी ब्राण्डहरूले केही नयाँ र केही अपडेटेड मोडल सार्वजनिक गर्दैछन् ।
नाडामा दुईपाँग्रेतर्फ नेपालमा स्थापित हिरो, यामाहा, रोयल इनफिल्ड लगायत १२ दुईपाँग्रे ब्राण्ड सहभागी हुँदैछन् । जसले अवलोकनकर्तालाई केही न केही नयाँ दिनेछन् । नाडामा लन्च हुने केही मोडलमा उपभोक्ताले अहिलेदेखि चासो राख्न थालेका छन् । ती मोडल नाडामा मुख्य आकर्षण बन्न सक्ने देखिन्छ । यहाँ हामीले नाडामा ग्राहकको ध्यान तान्न सक्ने सम्भावना रहेका दुई स्कुटर र मोटरसाइकलको चर्चा गरेका छौं ।
यात्री पी २
नाडामा दुईपाँग्रेतर्फ सर्वाधिक चासोमा रहेको मोडल हो, नेपालमै पहिलाे पटक उत्पादन भएको यात्रीको इलेक्ट्रीक स्कुटर पी २ । सिप्रदी र यात्रीले संयुक्त रूपमा बनाएको यो स्कुटर लन्च अगावै चर्चामा छ ।

नेपालमा इलेक्ट्रीक स्कुटरको माग बढ्दो क्रममा रहेको बेला आउन लागेको पी २ ले धेरैको ध्यान तान्ने निश्चित छ । ‘मेड इन नेपाल’को भावनात्मक सम्बन्ध र नेपाल सुहाउँदो स्कुटर भएकाले यो आकर्षणको केन्द्रमा रहने छ ।
यात्री पी टु स्कुटरको सम्पूर्ण डिजाइन, डेभलपमेन्ट र उत्पादनको काम नेपालमै गरिएको हो । नेपालमा उपलब्ध अन्य ब्राण्डका स्कुटरमा रहेका कमजोरी सुधार्दै पी २ लाई विशिष्ट किसिमको बनाइएको छ । यसमा अरू कुनै स्कुटरमा नभएका फिचर समेत राखिएको कम्पनीको भनाइ छ । पी टुमा दुईपाँग्रे सवारीमै पहिलो पटक डीसी चार्जर उपलब्ध गराइएको छ ।
यात्री पी २ नेपालका १ हर्जन बढी ठाउँमा ७ हजार किमी बढी परीक्षण गरिसकिएको छ । औपचारिक रूपमा पी टुको हालसम्म कुनै विवरण बाहिरिएको छैन । परीक्षणको चरणमा देखिएका तस्बिर र कम्पनीले सार्वजनिक गरेको टिजर अनुसार पी टु झट्ट हेर्दा मोटरसाइकल जस्तो देखिन्छ । यसको डिजाइन अन्य स्कुटरभन्दा फरक देखिन्छ ।
अगाडिको फेन्डर र रियर पार्ट मस्कुलर देखिन्छ । सिटको तल यात्रीको निलो कलरको ब्याज प्रयोग गरिएको छ । मिडमाउण्ट मोटर रहेको पी टुमा एलईडी हेडल्याम्प दिइएको छ । यसमा सिट पनि निकै फराकिलो भएको अनुमान गर्न सकिन्छ ।
यात्रीले यसमा १४ इन्चको अलोय ह्वील प्रयोग गरेको छ । आल्मुनियम स्वीङ आर्म प्रयोग भएको देखिन्छ । त्यस्तै डबल साइडेड स्प्रिङ सस्पेन्सन समेत देखिएको छ । स्कुटरमा सार्प एजहरूको प्रयोग र फ्लोर वोर्ड पनि फराकिलो भएको अनुमान गर्न सकिन्छ ।
यसको ब्याट्री र मोटर पावर बारे कुनै जानकारी बाहिरिएको छैन । प्रतिस्पर्धी बजारमा कम्पनीले आकर्षक मूल्यमा ल्याएमा यात्री पी २ ले राम्रो प्रतिक्रिया पाउने देखिन्छ ।
यामाहा एक्सएसआर १५५
नाडा अटो शोमा ग्राहकको ध्यान तान्न सक्ने अर्को मोडल हो यामाहा एक्सएसआर १५५ । नेपालमा यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले भारतमा बेस्ट सेलिङ मोडल बनिरहेका यामाहा एक्सएसआर १५५ नाडामा लन्च गर्ने भएको हो ।

यो मोटरसाइकल भारतमा लन्च भएको ९ महिनापछि नेपाल आउन लागेको हो । आकर्षक डिजाइन, पर्फमेन्स र टेक फिचरका कारण यो मोटरसाइकल भारतमा निकै रुचाइएको छ ।नेपालमा रेट्रो डिजाइनका मोटरसाइकलको माग बढिरहेकाले उचित मूल्यमा आए यो मोटरसाइकल ग्राहकको रोजाइमा पर्न सक्ने सम्भावना बलियाे देखिन्छ ।
यसको डिजाइन विश्वव्यापी एक्सएसआर १५५ बाट प्रेरित छ । यसमा क्लासिक स्टाइलका साथै मोर्डन टच पाउन सकिन्छ । एक्सएसआर मोटरसाइकल यामाहा आर १५ र एमटी १५ कै इन्जिन प्लेटफर्ममा निर्माण भएको मोडल हो । त्यसैले यसमा दिइएको इन्जिन पनि समान छ । कम्पनीले रेट्रो डिजाइनको मोटरसाइकल मन पराउने ग्राहकका लागि विशेष गरी यो एक्सएसआर १५५ मोडल ल्याएको हो ।
दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको एक्सएसआर १५५ मा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट सेटअप, टियरड्रप आकारको फ्युल ट्यांक, फ्ल्याट सिंगल पिस सिट, १३७ किलोग्राम तौल, १२० एमएम ग्राउण्ड क्लियरेन्स र १० लिटरको फ्युल ट्यांक दिइएको छ ।
यसमा १५५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, एफआई, भीभीए इन्जिन रहेको छ । यसले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच पनि छ ।
साथै, मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक यूएसडी फोर्क र रियरमा स्वीङआर्म लिंक मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस टायर र कलर म्याचिङ अलोय ह्वील रहेको छ ।
त्यस्तै, वाइ स्मार्टफोन कनेक्टिभिटी सिस्टम सहितको पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, कल एसएमएस अलर्ट, पूरा एलईडी लाइट, डीआरएल, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टार्टर लगायत फिचरहरू पाउन सकिन्छ ।


