काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता हिरो मोटोकर्पले डुअल स्पोर्ट सेग्मेन्टमा नयाँ मोटरसाइकल निर्माण गर्ने भएको छ ।
कम्पनीले हालै एडभेन्चर तथा अफरोड केन्द्रित डिजाइन र हार्डवेयर भएको नयाँ डबल पर्पस एड्भेन्चर मोटरसाइकलको पेटेन्ट दर्ता गरेको हो ।
यद्यपि, कम्पनीले हालसम्म नयाँ मोटरसाइकलको इन्जिन क्षमता, अन्य विवरणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
पेटेन्टमा देखिएको मोटरसाइकलमा अगाडि १९ इन्च र पछाडि १७ इन्चको स्पोक ह्वील सेटअप देखिन्छ । यही आकारको ह्वील सेटअप यसअघि हिरो इम्पल्समा पनि प्रयोग गरिएको थियो । यस्तो संयोजन डुअल-स्पोर्ट मोटरसाइकलमा अफरोड तथा खराब सडकमा राम्रो प्रदर्शनका लागि प्रयोग गरिन्छ ।
मोटरसाइकलमा अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक दिइएको देखिन्छ । दुवै छेउमा लामो ट्राभल भएको सस्पेन्सन प्रयोग गरिएको अनुमान गर्न सकिन्छ । अगाडिको फोर्कमा गेटरसमेत राखिएको छ, जसले यसको अफरोड केन्द्रित चरित्रलाई थप प्रस्ट पार्छ ।
डिजाइन हेर्दा मोटरसाइकल निकै आक्रामक देखिन्छ । यसमा शार्प डिजाइनको हेडलाइट काउल, एलईडी इन्डिकेटर तथा स्पोर्टी ट्यांक श्राउड दिइएको छ । साइड प्यानल भने तुलनात्मक रूपमा मिनिमलिस्टिक छन् ।
पछाडिको भागमा ठूलो लगेज यर्याक राखिएको छ, जसले टुरिङ तथा अफरोड यात्राका लागि मोटरसाइकललाई व्यावहारिक बनाउने संकेत गर्छ । साइडमा राखिएको एक्जस्ट पाइपको रुटिङ एक्सपल्स २०० फोरभीसँग मिल्दोजुल्दो देखिन्छ ।
हालसम्म यसको इन्जिन क्षमता पुष्टि भएको छैन । तर मोटरसाइकलको आकार र डिजाइन हेर्दा २०० सीसीभन्दा ठूलो इन्जिन प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।


