काठमाडौं । ग्रेटवाल मोटर्सको हाभल एच ७ नेपाली बजारमा ल्याउने तयारी भइरहेको छ । ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले हाभल एच ७ प्लगइन हाइब्रिड एसयूभी नेपाल ल्याउने भएको हो ।
हाभल एच ७ को सबैभन्दा आकर्षक पक्ष यसको प्लगइन हाइब्रिड प्रणाली हो । यसको फोर ह्वील ड्राइभ संस्करणमा १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनसँग विद्युतीय मोटर जोडिएको छ । यो प्रणालीले संयुक्त रूपमा ३६४ पीएस पावर र ७६० एनएम टर्क उत्पादन गर्छ ।
यसमा अगाडिको मोटरले १०९ पीएस र पछाडिको मोटरले २०४ पीएस शक्ति प्रदान गर्छ । यसको फोर ह्वील ड्राइभ सिस्टम निकै उत्कृष्ट रहने बताइएको छ ।
हाभल एच ७ टु ह्वील ड्राइभ संस्करणमा भने संयुक्त पावर ३२६ पीएस र टर्क ५४० एनएम रहेको छ । यसमा १९.०९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । 
साइजको हिसाबले हाभल एच ७ को लम्बाइ ४८०० एमएम, चौडाइ १९५० एमएम र उचाइ १८४३ एमएम छ । यसमा ह्वीलबेस भने २७३८ एमएम लामो पाउन सकिन्छ । २०० एमएमको ग्राउण्ड क्लियरेन्स नेपाली बाटोको लागि उपयोगी हुन्छ । अझ फोर ह्वील भेरियन्टमा २१० एमएम ग्राउण्ड क्लियरेन्स छ ।
ग्रेटवाल मोटर्सले यसको अगाडि म्याकफर्सन र पछाडि मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरेको छ । यसमा नर्मल, स्पोर्ट र इको मोडसँगै स्नो, स्याण्ड, मड र एडब्लूडी मोड दिइएको छ ।
बाहिरी डिजाइनमा क्रोम सहितको फ्रन्ट ग्रिल, एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, ग्लोस ब्ल्याक रूफ रेल, एलईडी टेललाइट र रेन सेन्सिङ वाइपर पाउन सकिन्छ । टप भेरियन्टमा पानोरामिक सनरुफ दिइएको छ । भेरियन्ट अनुसार १८ इन्च र १९ इन्चको एलोय ह्वील प्रयोग गरिएको छ ।
एसयूभीको भित्र ड्यासबोर्डमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १५.६ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
वायरलेस एप्पल कारप्ले, वायरलेस एन्ड्रोइड अटो र ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ । टप भेरियन्टमा हेड अप डिस्प्ले र अफरोड सूचना प्रणाली पनि पाउन सकिन्छ ।
यात्रालाई रोमान्चक र आरामदायी बनाउन भेन्टिलेटेड सिट, चालकको लागि मेमोरी सुविधा भएको सिट, ड्युलजोन एसी, ५० वाटको वायरलेस चार्जर दिइएको छ ।
सुरक्षाको लागि ६ वटा एयरब्याग, एबीएस, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीब्यूसन, ट्र्याक्सन कन्ट्रोल, हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोलजस्ता सुविधा छन् । अगाडि र पछाडि पार्किङ सेन्सर तथा ५४० डिग्री क्यामेराले तनाव रहित बनाउने छ ।
विशेषगरी फोर ह्वील ड्राइभ अप्सनमा एडास भित्र लामो सूची छ । स्वचालित आपत्कालीन ब्रेकिङ, पैदलयात्री तथा साइकल यात्री सुरक्षा सहायता, लेन किप एसिस्ट, ट्राफिक जाम असिस्ट, ब्लाइन्ड स्पट लगायतका सुविधा उपलब्ध हुनेछन् ।
हाभल एच ७ एसयूभीमा क्याम्प मोड, ईभी मोड, कफी स्पेस र नाप मोडजस्ता सुविधा पनि दिइएको छ । यसले एसयूभीलाई सामान्य हाइब्रिड भन्दा बाहिर निकालेर यात्रा तथा बाहिरी गतिविधिका लागि समेत उपयोगी बनाएको देखिन्छ ।


