काठमाडौं । यही भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८ औं संस्करणको ‘नाडा अटो शो २०२६’को तयारी पूरा भएको छ ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गर्दै अटो शोको तयारी पूरा भएको जानकारी दिएको हो ।
भदौ १४ गते(६ दिन) सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने नाडाले जनाएको छ ।
नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको अटो शो स्वर्ण उत्सव संस्करणको रूपमा आयोजना गरिने भएको छ। यस अटो शोले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास छ ।
नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। यसले अटो क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।
यस वर्षको नाडा अटो शोमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् , जसमा २३ ब्राण्डका प्यासेन्जर कार, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्राण्डका दुईपाँग्रे, १० बैंक वित्तीय एवं बीमा कम्पनी रहेका छन् ।
त्स्तै, नाडा अटो शोमा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरूको स्टल रहने छन् । यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन्।
अटो शोमा मुख्य आकर्षणको रुपमा जी वान ह्युमनोइड रोबोट, जीओ२ क्वाड्रपेड रोबोट, नेपाली उत्पादनका लागि छुट्टै पभिलियन, विभिन्न ब्राण्डका नयाँ नयाँ मोडल लन्च रहने नाडाले जनाएको छ ।
अटो शोमा दुईपाँग्रे, चारपाँग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिने छ । अवलोकनकर्ताले खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सक्नेछन् । निश्चित अवधिका लागि टिकटमा ५० प्रतिशत क्यासब्याक पाउने छन् ।
अवलोकनकर्ताको सुविधाका लागि नेपाल पुलिस क्लब र नेशनल ट्रेडिङमा पार्किङको व्यवस्था गरिएको नाडाले जनाएको छ ।
६ दिन सम्म चल्ने उक्त अटो शोमा करिब २ लाख जनाले अवलोकन गर्ने नाडाको विश्वास छ ।


