हुन्डाई क्रेटा र निसान किक्समा कुन किन्ने ? सबै भेरियन्टको मूल्यसहित

काठमाडौं । निसानको आधिकारिक बितरक पायोनियर मोटो कर्पले निसान किक्सलाई गत वर्षको फागुन महिनाबाट नेपाली बजारमा बिक्री सुरु गरेको हो । नेपालमा विगत ३७ वर्षदेखि निसानको उत्पादन बिक्री भइरहेकाले यसको बजारमा छुट्टै प्रभाव रहेको छ ।

यता, हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले क्रेटालाई २०१६ को सुरुवातबाटै नेपाली बजारमा बिक्री गर्दै आएको छ । यो आफ्नो सेग्मेन्टमा सधै सर्वाधिक बिक्री हुने एसयूभी बन्दै आएको छ । 

यस्तोमा नेपाली बजारमा क्रेटा र किक्सबीच प्रतिस्पर्धा हुनु स्वभाविक हो । यी दुबै एसयूभीको मूल्य, विशेषता, डिजाइन, फिचरलगायत विषय समान प्रकारको रहेकाले पनि ग्राहकलाई कुन राम्रो भन्ने दुविधा हुन सक्छ । 

इन्जिन

नयाँ निसान किक्समा उपलब्ध १.५  लिटर ५ स्पीड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५ के९के डीसीआईमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ । साथै, किक्समा उपलब्ध १४९८ सीसी फोर सिलिन्डर पेट्रोल इन्जिनले ५६ सय आरपीएममा १०४ हर्ष पावरका साथै ४ हजार आरपीएममा १४२ एनएम टर्क उत्पादनको क्षमता राख्छ ।

हुन्डाई क्रेटा १.४ लिटर टर्बाेचाज्र्ड डिजेल र १.६ लिटर पेट्रोल इन्जिन दिइएको छ । क्रेटाको डिजेल इन्जिनले ८९ बीएच पावर प्रदान गर्छ भने १.६ पेट्रोल इन्जिनले १२१ बीएच पावर प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स, ६ स्पीड अटोमेटिक टर्क कन्भर्टर र ७ स्पीड डिसिटी गियरबक्स लगाइएको छ ।

डायमेन्सन

निसान किक्सको लम्बाई ४३८४ एमएम, चौडाई १८१३ एमएम र उचाई १६५६ एमएम रहेको छ । यसमा २६७३ एमएमको ह्वीलबेश रहेको  छ ।

यस्तै, हुन्डाई क्रेटाको लम्बाई ४२७० एमएम, चौडाई १७८० एमएम र उचाई १६३०एमएम रहेको छ भने २५९० एमएमको ह्वीलबेश लगाइएको छ । दुबै कारको सिट क्षमता समान रहेको छ । यी दुबै कारमा चालकसहित ५ जनाले यात्रा गर्न सक्ने छन् ।

विशेषता

हुन्डाई क्रेटा र निसान किक्समा समावेश अधिकांश विशेषतामा पनि समानाता देखिएको छ । दुबै मोडलमा रियर एसी भेन्ट, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हाइट एडजस्टेबल ड्राइभर सिट, पावर अपरेट ओआरभीएमएस, ब्लुटुथ कनेक्टिभिटी, एप्पल कार प्ले, एन्ड्रोइड अटो, नेभिगेसन सिस्टम, रियर वाइपर र वासर, पुस स्टार्ट बटम लगायतका विशेषता दिइएको छ ।

सुरक्षा

ड्राइभर तथा प्यासेन्जरको सुरक्षालाई ध्यानमा राख्दै निसान किक्स र क्रेटा दुबै मोडलका स्डायडर्ड भेरियन्टमा डबल फ्रन्ट एयरब्याग, एबीएस र इबीडी, रियर पार्किङ क्यामेरा, रियर डिफोगर लगाइएको छ । हुन्डाई क्रेटामा उपलब्ध स्पीड सेन्सिङ अटो डोर लकको विशेषता भने निसान किक्समा उपलब्ध छैन । त्यस्तै  दुबै मोडलमा आइएओफिक्स चाइल्ड सिट, रिभर्स पार्किङ सेन्सर लगायतका विशेषता उपलब्ध छन् ।

माइलेज

माइलेजको हिसाबमा निसान किक्सभन्दा हुन्डाई क्रेटा अगाडि देखिएको छ । पेट्रोल भर्सन अन्र्तगत हुन्डाई क्रेटाले प्रतिलिटर १५.३ किलोमिटरको माइलेज प्रदान गर्छ भने, डिजेल भेरियन्टले प्रतिलिटर २१.४ किलोमिटर माइलेज प्रदान गर्छ । 

निसान किक्सको पेट्रोल भेरियन्टले  प्रतिलिटर १३ किलोमिटर माइलेज प्रदान गर्छ भने, डिजेल भेरियन्टले प्रतिलिटर २० किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । 

मूल्य

निसान किक्स र हुन्डाई क्रेटाको मूल्यमा पनि समानता देख्न सकिन्छ । नेपाली बजारमा किक्सको सुरुवाति मूल्य ४८ लाख ९९ हजार र टप भएरियन्टको मूल्य ६५ लाख २५ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै हुन्डाई क्रेटाको लो भेरियन्ट इ प्लसको मूल्य ४६ लाख ५६ हजारदेखि टप भेरियन्टको मूल्य ६१ लाख ९६ हजार रुपैयाँ रहेको छ । 


Back_to_top