कोना इभीः तीन लाख धेरै तिर्दा ४ फिचर बढी

काठमाडौं । हुन्डाईले आफ्नो पहिलो नेपाल आएको इलेक्ट्रीक क्रसओभर कोनालाई दुई भेरियन्टमा विक्री गर्दै आएको छ । केही समय अघिसम्म कोना इलेक्ट्रीक ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा विक्री हुँदै आएको भएपनि अहिले एउटा ब्याट्रीमा मात्रै उपलब्ध छ ।

अहिले ३९.२ किलोवाट आवरको ब्याट्रीमा मात्रै उपलब्ध गराएको भएपनि यसको दुई भेरियन्ट किन्न पाइन्छ । कम्पनीले कोनाको इन्ट्री भेरियन्ट जीएल र टप भेरियन्ट जीएलएस विक्री गर्दै आएको छ ।

यी दुई भेरियन्टको मूल्यमा ३ लाख रुपैयाँको फरक पाउन सकिन्छ । कोना जीएलएसमा जीएलको तुलनमा मुख्यत ४ वटा फिचर बढी रहेको छ । जसमा लेदर सिट, भ्यान्टीलेटेड सिट, इलेक्ट्रीकल्ली एड्जस्टेवल ड्राइभर सिट र वायरलेस चार्जर रहेका छन् ।

हुन्डाईले जीएल भेरियन्टको मूल्य ५७ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य ६० लाख ९६ हजार कायम गरेर विक्री गर्दै आएको छ ।

मुख्यत यी ४ फिचर बाहेक अन्य सबै फिचर जीएल भेरियन्टमा पाउन सकिन्छ । त्यसैले कसैले यी ४ फिचरलाई महत्व धेरै दिदैनन् भने उसको लागि जीएल भेरियन्ट उत्कृष्ट छनोट बन्न सक्छ ।

यस्तो छ कोना इभी

नेपालमा उपलब्ध फेसलिफ्ट कोनाको दुबै भेरियन्टमा एलइडी डेटाइम रनिङ लाइट सहितको रिडिजाइन हेडल्याम्प, नयाँ एलइडी टेलल्याम्प, १७ इन्चको अलोय ह्वील, १०.२५ इन्चको फुल कलर इन्ट्रुमेन्ट क्लष्टर, ८ इन्चको फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट कि, पुस बटम स्टार्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक्स गियर सिफ्ट जस्ता फिचर पाउन सकिन्छ ।

यी फिचरका आलाव सुरक्षाको लागि अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ एयरव्याग, रिभर्स पार्किङ सेन्सर, रियर भ्यू क्यामेरा, इबीडी सहितको एबीएस, हिल एसिस्ट कन्ट्रोल पाउन सकिन्छ ।

यसमा रहेको १०० किलोवाट क्षमताको मोटरले अधिकतम १३६ पीएस पावर र ३९५ एनएम टर्क प्रदान गर्छ । साइजको हिसावले पनि यो क्रसओभर निकै राम्रो रहेको छ । यसको लम्बाई ४१८० एमएम, चौडाई १८०० एमएम र उचाई १५५५ एमएम रहेको छ भने यसको ह्वीलवेस २६०० एमएमको छ ।

कोनाको टप स्पीड क्षमता १५५ किलोमिटर प्रतिघन्टाको छ भने यसमा रहेको ब्याट्रीलाई एक पटकको फुल चार्जमा ३०५ किलोमिटर गुडाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई घरायसी विजुलीबाट ८ देखि १० घन्टामा फुल चार्ज गर्न सकिन्छ ।


Back_to_top