तीन वर्षदेखि निरन्तर सप्लाई भइरहेको इलेक्ट्रीक कार, यस्तो छ मासिक किस्ता

काठमाडौं । नेपाली बजारमा विभिन्न कम्पनीले इलेक्ट्रीक कार उपलब्ध गराउँदै आएको भएपनि निरन्तर गाडी आयात अत्यन्त कम ब्राण्डले गर्दै आएका छन् ।

नेपालको विद्युतीय कार बजारको परिभाषा परिवर्तन गर्नेगरी आएको हुन्डाई कोना निरन्तर बजारमा उपलब्ध मोडल हो । सरकारले बढाएको कर र त्यसबाट मूल्यमा परेको असरको कारण केही महिना आयात नभएपनि त्यो बाहेक अन्य समयमा निरन्तर आयात हुँदै आएको कोना इलेक्ट्रीक सफल मोडल पनि हो ।

सन् २०१८ को अन्त्यतिर बजारमा आएको हुन्डाई कोना सुरुवाती दिनमा दुई ब्याट्री अप्सनमा उपलब्ध रहेपनि अहिले एउटा मात्रै ब्याट्री अप्सनमा उपलब्ध रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले विक्री गर्दै आएको कोना ३९.२ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध रहेको छ भने यसमा १०० किलोवाट क्षमताको मोटर रहेको छ । आकर्षक डिजाइन र आरामदायी क्याविनमा उपलब्ध कोना आफ्नो डिजाइन र कलरको कारण पनि निकै चर्चामा रहन सफल भएको मोडल हो ।

कम्पनीले यसलाई दुई भेरियन्ट जिएल र जिएलएसमा उपलब्ध गराएको छ । जिएल भेरियन्टको मूल्य ५७ लाख ९६ हजार र जिएलएसको मूल्य ६० लाख ९६ हजार रुपैयाँ रहेको छ । निरन्तर बजारमा उपलब्ध रहेको कारण यसको विक्री पनि निकै स्मुद रहेको छ ।

सेग्मेन्टका प्रतिस्पर्धी एमजी जेडएस इभीभन्दा महंगो मूल्यको कारण कोना मनपराउने धेरै मानिसले जेडएस इभी रोजेको पाइन्छ । यद्यपि हुन्डाईको लिगेसीलाई कोनाले पनि निरन्तरता दिएको छ ।

अहिले व्याजदर महंगो भएको कारण कोनाको मासिक किस्ता पनि निकै तिर्नु पर्ने अवस्था छ । बजारमा अहिले चलेको वार्षिक १३ प्रतिशत ब्याजदरले २० प्रतिशत डाउन पेमेन्ट बुझाएर मासिक किस्तामा कोना जीलए किन्ने ग्राहकले ७ वर्षसम्म महिनाको ८४ हजार ३५० रुपैयाँ हाराहारी तिर्नुपर्छ ।

त्यसैगरी कोनाको जिएलएस भेरियन्ट किन्ने ग्राहकले पनि त्यतिनै प्रतिशत डाउन गरेर कोना किन्ने हो भने मासिक ८८ हजार ७२० रुपैयाँ मासिक तिर्नु पर्छ ।

नेपालमा विक्री भइरहेका कोनाका दुई भेरियन्टको मूल्यमा ३ लाख रुपैयाँको फरक पाउन सकिन्छ । कोना जीएलएसमा जीएलको तुलनमा मुख्यत ४ वटा फिचर बढी रहेको छ । जसमा लेदर सिट, भ्यान्टीलेटेड सिट, इलेक्ट्रीकल्ली एड्जस्टेवल ड्राइभर सिट र वायरलेस चार्जर रहेका छन् ।

नेपालमा उपलब्ध फेसलिफ्ट कोनाको दुबै भेरियन्टमा एलइडी डेटाइम रनिङ लाइट सहितको रिडिजाइन हेडल्याम्प, नयाँ एलइडी टेलल्याम्प, १७ इन्चको अलोय ह्वील, १०.२५ इन्चको फुल कलर इन्ट्रुमेन्ट क्लष्टर, ८ इन्चको फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट कि, पुस बटम स्टार्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक्स गियर सिफ्ट जस्ता फिचर पाउन सकिन्छ ।

यी फिचरका आलाव सुरक्षाको लागि अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ एयरव्याग, रिभर्स पार्किङ सेन्सर, रियर भ्यू क्यामेरा, इबीडी सहितको एबीएस, हिल एसिस्ट कन्ट्रोल पाउन सकिन्छ ।

यसमा रहेको १०० किलोवाट क्षमताको मोटरले अधिकतम १३६ पीएस पावर र ३९५ एनएम टर्क प्रदान गर्छ । साइजको हिसावले पनि यो क्रसओभर निकै राम्रो रहेको छ । यसको लम्बाई ४१८० एमएम, चौडाई १८०० एमएम र उचाई १५५५ एमएम रहेको छ भने यसको ह्वीलवेस २६०० एमएमको छ ।

कोनाको टप स्पीड क्षमता १५५ किलोमिटर प्रतिघन्टाको छ भने यसमा रहेको ब्याट्रीलाई एक पटकको फुल चार्जमा ३०५ किलोमिटर गुडाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई घरायसी विजुलीबाट ८ देखि १० घन्टामा फुल चार्ज गर्न सकिन्छ ।


Back_to_top