काठमाडौं । इटालियन मोटरासइकल ब्राण्ड ट्यारोको नयाँ स्कुटर नेपालमा विक्री सुरु भएको छ । ओम मोटोकर्पले ट्यारो इमोला १५० स्पोर्टी स्कुटरको विक्री सुरु गरेको हो ।
कम्पनीले केही समय अगाडि मात्र नेपाली बजारमा ट्यारो ब्राण्ड सार्वजनिक गरेको थियो । कम्पनीले यसअघि १५० सीसी कै म्याक्सी डिजाइनको स्कुटर विक्री गर्दै आएको छ ।
कम्पनीले नयाँ सार्वजनिक गरेको ट्यारो इमोलामा १४९ सीसी एयर कुल्ड यूरो ५ मापदण्डको इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा अधिकतम ११.५ बीएच पावर तथा ६००० आरपीएममा १२.१ एनएम टर्क जेनेरेट गर्छ । यसको पावर यो सेग्मेन्टका स्कुटरमा नै सर्वाधिक धेरै रहेको कम्पनीको दावी छ ।

स्कुटरको फ्रन्टमा टेलीस्कोपिक सस्पेन्सन उपलब्ध छ भने, पछाडि स्वीङ आर्म सस्पेन्सन पाउन सकिन्छ । दुबै चक्कामा डिस्क ब्रेक, ५.५ लिटर क्षमताको फ्यूल स्टोरेज क्षमता र प्रतिलिटर ३० किलोमिटर माइलेज यो स्कुटरको विशेषता हो ।
यसमा फुल डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लष्टर, कि-लेस स्र्टाट अप्सन, प्रति घन्टा ११० किलोमिटरको स्पीड, स्पोर्टी डिजाइन र पावरफुल इन्जिन रहेको कारण यसलाई निकै बोल्ड स्कुटर मानिन्छ ।
ओम मोटोकर्पले ट्यारो इमोला १५० को मूल्य ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

