काठमाडौं । केटीएमले ३९० सीसी सेग्मेन्टमा नयाँ डबल पर्पस एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा केटीएमको ३९० एन्ड्यूरो आर’ भेरियन्ट सार्वजनिक गरेको हो । कम्पनीले यस मोटरसाइकलको मूल्य ३ लाख ३६ हजार ५०० भारु रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ ।
केटीएम ३९० एन्ड्यूरो आर पहिलो पटक मिलानमा भएको ‘इक्मा अटो शो २०२४’मा देखाइएको थियो । त्यसको झण्डै एक वर्षपछि भारतीय बजारमा आएको हो ।
टिपिकल इन्ड्यूरो, डबल स्पोर्ट डिजाइन र स्लिम बडीवर्कमा तयार भएको ३९० इन्ड्यूरो आरमा सानो आकारको हेडलाइट, उठाइएको फ्रन्ट फेन्डर, लामो फ्ल्याट सिंगल पिस सिट, अग्लो सिंगल पिस ह्याण्डलबार, ह्याण्डलबार क्ल्याम्प र स्लीम रियर डिजाइन पाउन सकिन्छ ।
नयाँ स्टील ट्रेलिस चेसिस फ्रेम प्रयोग गरेर निर्माण भएको यस मोटरसाइकलमा लङ ट्राभल सस्पेन्सन सेटअप, इन्भर्टेड फ्रन्ट यूएसडी फोर्क र रियरमा मोनोसक दिएको छ । अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील र ब्लक प्याटर्न अफरोड बेस टायर पाउन सकिन्छ ।
त्यस्तै, ४.२ इन्चको टीएफटी कन्सोल, कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, फोन अलर्ट, म्युजिक कन्ट्रोल, एलईडी लाइट, स्वीचेबल डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, दुई राइडिङ मोड, लन्च कन्ट्रोल सिस्टम, एड्जस्टेबल पिलियन फुटपेग, ग्रयाब रेल, नकल गार्ड, फ्रन्ट नम्बर प्लेट माउन्ट, इन्जिन गार्ड, ब्रेक र क्लच लिभरहरू लगायत विभिन्न फिचरहरू छन् ।
कम्पनीले केटीएम ३९० एन्ड्यूरो आर मोटरसाइकलमा अतिरिक्त टर्क प्रदान गर्ने लो इन्ड र मिड रेन्ज पर्फमेन्स ट्युन, स्प्रोकेटिङ ट्वीक गरिएको ३९९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एलसी फोरसी, इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ४६ पीएस पावर तथा ३९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्ससँगै स्लिपर–असिस्ट क्लच र बाइ डिरेक्सनल क्विक सिफ्टर पनि उपलब्ध छ ।
नेपाल आउने पक्का
भारतीय बजारमा सार्वजनिक भएको केटीएम ३९० एन्ड्यूरो मोटरसाइकल नेपालमा पनि चाँडै आउने भएको छ ।
नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले केही दिन अघि नक्सालमा नयाँ शोरुम उद्घाटन गर्दै केटीएम ३९० एन्ड्यूरो आर चाँडै नेपाल ल्याइने जानकारी दिएका थिए । उनले चाँडै केटीएमका ‘बिग बाइक’ समेत बिक्री सुरू गर्ने बताएका थिए ।

