काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवा तथा व्यवस्थापन (प्रि हस्पिटल केयर) का लागि सहकार्य भएको छ । आइतबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले सम्झैता पत्रमा हस्ताक्षर गरेका हुन् ।
महानगरले नेपाल एम्बुलेन्स सेवासँग ५ वर्षका लागि सम्झौता गरेको हो । उद्योगी, व्यवसायी, गैरसरकारी संस्थालगायतको सहयोगमा सञ्चालन हुँदै आएको एम्बुलेन्स सेवामा महानगरले सञ्चालन खर्च प्रदान गर्ने भएको छ । सम्झैता अनुसार महानगरले एम्बुलेन्स सेवालाई मासिक १२ लाख रकम प्रदान गर्ने भएको छ ।
साथै ७० वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिका लागि निशुल्क सेवा प्रदान गरिने भएको छ । विपन्न गरिब र बेसहारालाई वडा कार्यलयको शिफारिसमा निशुल्क सेवा प्रदान गरिनेछ ।
नेपाल एम्बुलेन्स सेवाको हाल १० वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ । काठमाडौं उपत्यका लगायत चितवन, पोखरा र बुटवलमा पनि यो सेवा २४सै घण्टा फोन नं. १०२ मा सम्पर्क गरि प्राप्त गर्न सकिन्छ ।
नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले विगत ९ वर्षमा हालसम्म ३६ हजार ५ सय जना व्यक्तिहरुलाई सेवा पु¥याई सकेको बताए । यो सहकार्यले हामीलाई नेपालभरि आफ्नो सेवा विस्तार गर्न र अझ स्तरीय सेवा जनतासम्म पु¥याउन थप हौसला मिलेको उनले बताए ।
त्यस्तै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले यो सम्झौता महानगरबासी हरेक नागरिकको जीवनसँग जोडिएकाले यस सेवालाई स्तरीय बनाउनु पर्ने बताए । सम्झौतामा हामीले ७० वर्ष नाघेका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिले निशुल्क सेवा प्रदान गर्ने र विपन्न गरिब तथा बेसाहाराले पनि वडा कार्यलयको शिफारिसमा निशुल्क सेवा लिन सक्ने मेयर शाक्यको भनाई छ ।

