काठमाडौं । बेलायती कार ब्रान्ड एमजीले अप्रिल २८ तारिखबाट आफ्नो प्रिमियम एसयुभी हेक्टरको उत्पादन भारतमा सुरु गरेको छ । साथै, कम्पनीले हेक्टरको ग्लोवल प्रिमियर मे महिनाको अन्तिमसम्ममा गर्ने र जुनबाट बिक्री सुरु गर्ने जनाएको हो ।
उक्त गाडीलाई नेपाली बजारमा ल्याउन पारामाउन्ट मोटर्सले आफ्नो गृहकार्य शुरु गरिसकेको जनाएको छ । संभवत नेपाली बजारमा सेप्टेम्बरसम्ममा हेक्टर आउने छ ।
एमजीले ल्याउने नयाँ कारमा १०.४ इन्च टचस्क्रीन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने एमजी हेक्टरमा कनेक्टिभिटीको विशेषता समेटिएको छ । हेक्टरमा रहेको आइ–स्मार्ट सिस्टमले कनेक्टिभिटीमा सहयोग गर्ने छ । यो कारमा इन्टरनेट प्रोटोकल भर्सन ६ (आइपीभी–६) सपोर्ट गर्ने सिमकार्ड रहने छ । त्यस्तै यो कारले ५–जीसमेत सपोर्ट गर्नेछ ।
एमजी हेक्टर १.५ लिटर टर्बोचार्ज्ड, पेट्रोल इन्जिन र २.० लिटर फोर सिलिन्डर टर्बो डिजेल इन्जिनमा उपलब्ध हुनेछ । एमजीले उक्त इन्जिन फियाटबाट लिएको हो । जसलाई टाटाले ह्यारीयर र जीपले कम्पासमा समेत प्रयोग गरेको छ । यसमा दिइएको डिजेल इन्जिनले १४३ बीएचपी पावरका साथै २५० एनएमटर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ ।
एमजी हेक्टरमा क्लाउड वेस ओटीए (ओभर द एयर) हुनेछ भने यसको अर्को मुख्य विशेषता एआई (आटिर्फिसियल इन्टेलिजेन्स) भ्वइस असिस्ट सिस्टम पनि रहने छ । यसमा १ सय भन्दा धेरै फङ्सन एक्टिभ हुनेछ ।
एमजीको हेक्टर एआई सुपेरियर युजर एक्सपेरियन्स सहित भारतमा आउने पहिलो कार हुनेछ । हेक्टरको क्याविन एआई असिस्टबाट नेभिगेसन, क्लाइमेट कन्ट्रोल, सनरुफ अप्रेसन लगायत चलाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
एमजीको आइस्मार्ट एप्लिकेशन मार्फत सर्भिसको स्टाटस र रिमाइन्डर, डोर लक अन लक, हरेक टायरमा भएको प्रेसर, लाइभ लोकेसन जस्ता कुराको जानकारी पाउन सकिन्छ ।


