सवारी प्रदूषण मापदण्ड स्तरोन्नति गर्न सबै सहमत, तर थप छलफल जरुरी

काठमाडौं । नेपाल प्रदूषण मापदण्ड २०६९ लाई स्तारोन्नती गरि २०७५ लागु गर्ने विषयमा सवारी आयातकर्ता र सरकार सहमति नजिक पुगेका छन् । मेरोअटोले एक वर्ष पुरा गरेको अवसरमा आयोजना गरिएको अटो सम्बादमा नयाँ प्रदूषण मापदण्ड लागु गर्नु पर्नेमा सबैको मतैक्यता थियो । 

व्यवसायीहरुले नयाँ मापदण्डमा जाँदा त्यसको तयारी गरेर मात्र लागु गनुपर्ने बताएका छन् । नयाँ मापदण्ड स्तरोन्नति गर्दा सवारीको मूल्य वृद्धिदेखि मर्मतको संरचना समेत परिवर्तन गर्नुपर्ने भएकाले यस विषयमा गम्भिर छलफल हुनुपर्ने नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शम्भुप्रसाल दाहालले बताए । 

‘समयानुकुल प्रविधिको परिमार्जन हुनु पर्ने विषयमा हामी व्यसायीहरु सहमत छौं,’ दाहालले भने, ‘तर त्यसका लागि आवश्यक तयारी नभई मापदण्ड स्तरोन्नती गर्दा त्यसको परिणम नकारात्मक आउन सक्छ ।’ सरकारी तयारी, व्यबसायीक तयारी तथा बाटो सबैको अवस्थालाई हेरेर मात्र स्तरोन्नति गर्दा त्यसको परिणामा आउने उनको भनाई छ । 

नेपालमा २०५६ मा यूरो–१, २०६९ मा यूरो–३ लागु भएको थियो । यूरो स्ट्यान्डर्डलाई र भारत तथा अन्य देशमा भएको प्रदूषण मापदण्डलाई हेरेर नेपाल प्रदूषण मापदण्ड बनाएर लागु गर्दै आएको छ । 

सवारीसाधनको प्रविधि समयानुकुल परिमार्जन हुँदै गएको र नेपालले पनि त्यही अनुसार आफूलाई पनि परिवर्तन गर्नुपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । ‘सवारीको वातावरणीय प्रभाव बढी रहेकाले प्रदूषण मापदण्ड स्तरोन्नती गर्न ढिलो भइसकेको मैले महसुस गरेको छु,’ दाहालले भने, ‘यस विषयमा छलफलहरु भइरहेको र नयाँ प्रदूषण मापदण्ड लागु हुने कुरामा शंका छैन ।’ 

सवारी साधनले गर्ने प्रदूषण बढेको र त्यसलाई समयानुकुल परिमार्जन गर्ने विषयमा शंका नभएपनि लागु गर्नुपूर्व त्यसले पार्ने प्रभाव बारे सजग हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाल्छाले बताए । ‘व्यवसायीहरु यूरो–४ लागु गर्ने विषयमा नकारात्मक होइनन् तर त्यसले पार्ने प्रभाव बारे भने सबै सचेत हुन आवश्यक छ,’ गोल्छाले भने । 

सिप्रदी ट्रेडिङ प्रालिका सीइओ तथा स्तरोन्नति कमिटिका सदस्य राजनबाबु श्रेष्ठले सवारी आयातकर्ताहरु यूरो–४ स्ट्यान्डर्डको सवारी आयात गर्न तयार रहेको बताए । तर नेपालको बाटो, उपभोक्ता, वर्कसप, इन्धनलगायत विषयमा विश्लेषण गरेर मात्र नयाँ मापदण्ड लागु गर्नु पर्ने उनको भनाई छ ।  

छलफलमा सहभागी सरोकारवालाहरुले प्रदूषण मापदण्ड नयाँ लागु गर्नुपर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले नयाँ प्रदूषण मापदण्ड लागु गर्दा सवारीको लागत बढ्ने भएकाले त्यस तर्फपनि सचेत हुनुपर्ने बताए । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर गोविन्दप्रसाद खरेलले मानिसको स्वस्थ्यमा सवारीले गर्ने प्रदूषण निक्कै घातक भएकाले प्रदूषण मापदण्ड स्तरोन्नती गर्नु आवश्यक रहेको उल्लेख गरे । विभागका पूर्व प्राविधिक निर्देशक तथा नेपाल सवारी प्रदूषण मापदण्ड ०६९ स्तरोन्नती कमिटिका सदस्य समेत रहेका सरद अधिकारीले यूरो–३ बाट यूरो–४ मा जाँदा सवारीले गर्ने प्रदूषण निक्कै कम हुने भएकाले स्तरोन्नति आवश्यक रहेको बताए । 

नेपालमा २०५६ मा यूरो–१, २०६९ मा यूरो–३ लागु भएको थियो । यूरो स्ट्यान्डर्डलाई र भारत तथा अन्य देशमा भएको प्रदूषण मापदण्डलाई हेरेर नेपाल प्रदूषण मापदण्ड बनाएर लागु गर्दै आएको छ । 

छलफलमा सहभागी नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलाल, महासचिव सुनिल रिजाल, सिप्रदी ट्रेडिङ प्रालिका, सीओओ राजेश गिरी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बाँनिया, व्यवसायी कपिल शिवाकोटीलगायतले आफ्नो धारणा राखेका थिए । 


Back_to_top