चर्चित दुई ब्राण्ड मिलेर नयाँ मोटरसाइकल उत्पादन गर्दै, निकै पावरफुल हुने

काठमाडौं । केटीएम र चिनियाँ ब्राण्ड सीएफमोटोको सहकार्यमा नयाँ मोटरसाइकल उत्पादन हुने भएको छ । दुई कम्पनी मिलेर चीनमा मोटरसाइकल उत्पादन गर्ने भएका हुन् ।

सीएफमोटोले अब चीनमा अस्ट्रियन मोटरसाइकल ब्राण्ड केटीएमको मोटरसाइकल उत्पादन गर्नेछ । केटीएम पहिलो पटक चिनियाँ बजारमा प्रवेश गर्न लागेको हो ।

चीनमा केटीएमको पहिलो मोटरसाइकल आरसी ४५० सीसी हुने चिनियाँ होमोलोगेशन कागजातहरू मार्फत खुलासा गरिएको छ।

केटीएमको आरसी ४५० सीएफ मोटोको ४५० एसआर-एस मोटरसाइकलमा आधारित छ, जुन ४५० एसआरको हार्डकोर भेरियन्ट हो। चिनियाँ बजारमा केटीएमको पहिलो मोटरसाइकल सीएफ मोटोको ४५० एसआर-एस आधारित भएता पनि कम्पनीले यसमा केटीएमको झल्को दिन पर्याप्त परिवर्तनहरू गरेको छ।

कम्पनीले तयार पारेको केटीएमको नयाँ मोटरसाइकल आरसी ४५० को फोटो समेत सार्वजनिक भइसकेको छ । फोटोमा देखिएको मोटरसाइकल प्रोडक्सन मोडल नै रहेको रिपोर्टमा उल्लेख छ ।

फोटोमा देखिए अनुसार मोटरसाइकलले केटीएमको सिग्नेचर डिजाइन, स्टाइल, लुक्स र लाइटिङ ओरेन्ज कलरलाई यथावत राखि मोटरसाइकल बनाएको देखिन्छ । आरसी ४५० मोटरसाइकलको डिजाइन केटीएमकै आरसी ९९० मोडलको जस्तै देखिन्छ ।

यो मोटरसाइकलमा दिइएको इन्जिन, ट्रेलिस फ्रेम र अन्य केही पार्टसहरू भने सीएफ मोटोको ४५० एसआर-एसबाट लिइएको छ । मोटरसाइकललाई प्रिमियम देखाउनका लागि कम्पनीले सिंगल साइड स्वीङआर्म दिएको छ । यसले प्रिमियम मात्रै नभई ह्यान्डलिङ सुधार गर्न पनि निकै मद्दत गर्ने कम्पनीले बताएको छ ।

कुल तौल १६८ किलोग्राम रहेको नयाँ आरसीमा ४५० सीसीको प्यारालल ट्विन सिलिण्डर इन्जिन छ । दुवै मोटरसाइकलमा इन्जिन एउटै भए पनि सीएफ मोटोको एसआर ४५० भन्दा अझै बढी पावर आरसी ४५० ले जेनेरेट गर्छ । आरसीको अधिकतम पावर ५६.२ पीएस छ भने टप स्पीड १९५ किलोमिटर प्रतिघण्टा रहेको छ । एसआरले अधिकतम ५१ पीएसको पावर जेनेरेट गर्छ ।

साथै, यसमा डब्लूपीको एड्जस्टेबल सस्पेन्सन सेटअप र डब्लूपीकै स्टेयरिङ ड्याम्पर दिइएको छ । जसले मोटरसाइकललाई निकै स्थिरता प्रदान गर्ने छ । आरसीमा पूरा एलईडी लाइट सेटअप, पूरा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एबीएस सिस्टम लगायतका अन्य धेरै फिचरहरू समावेश हुनेछन् ।


Back_to_top