काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएको नयाँ भन्सार ऐनको विरोधमा ‘पेन डाउन’मा उत्रिएका भन्सार एजेन्टहरूले आफ्नो आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।
भन्सार विभाग र भन्सार एजेन्ट महासंघ बीच भएको छलफलमा सहमति जुटेपछि एजेन्टहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचीनकुमार वैद्यले एक विज्ञप्ति जारी गर्दै भन्सार विभागसँगको छलफलपछि माग सकारात्मक रूपमा सम्बोधन भएको र सोही कारण पेन डाउन कार्यक्रम फिर्ता लिइएको जनाएका छन् ।
एजेन्टहरूले नयाँ ऐनमा राखिएका दण्ड-जरिवाना, मूल्यांकन, सर्भर समस्या, पेशागत हकहित लगायतका विषयमा असहमति जनाउँदै मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन सुरू गरेका थिए ।
जसकारण देशभरका सबै भन्सार कार्यालयबाट मालवस्तु आयात निर्यात ठप्प भएको थियो । आन्दोलन फिर्ता लिएसँगै अब देशभरका भन्सार कार्यालयमा रोकिएको मालवस्तु जाँचपास सुचारु हुने भएको छ ।

