कारमा हुने फिचर भएकाे नेपालमा पाइने दुई मात्र मोटरसाइकल

काठमाडौं । सूचना प्रविधिमा आएको तीव्र विकासले अटोमोबाइल क्षेत्र पनि निकै स्मार्ट, एड्भान्स र डिजिटल बन्दै गएको छ । दुईपाँग्रे होस् वा चारपाँग्रे, अधिकांश ब्राण्डले आफ्ना प्रोडक्टलाई हाइटेक बनाइरहेका छन् ।

आधुनिक कारमा पार्किङ एसिस्ट, ३६०/५४० डिग्री क्यामेरा, अटो होल्डिङ, ब्लाइण्ड स्पट, अटोमेटिक ब्रेकिङदेखि सेल्फ ड्राइभिङ जस्ता फिचर पाइन्छ ।

त्यस्तै, मोटरसाइकल/स्कुटरमा पनि क्रुज कन्ट्रोल, एबीएस, स्लिप असिस्ट क्लच, कर्नरिङ एबीएस, क्वीक सिफ्टर जस्ता आधुनिक फिचर राख्न थालिएको छ ।

आफ्ना उत्पादनलाई हाइटेक बनाई ग्राहकको ध्यान तान्न कम्पनीहरूले आधुनिक फिचर राख्न थालेका हुन् । पछिल्लो समय भारतमा उत्पादन भई नेपाल आउने मोटरसाइकलहरूमा पनि हाइटेक फिचर पाइन्छ ।

अहिले नेपाली बजारमा कारमा हुने क्रुज कन्ट्रोल फिचर भएका मोटरसाइल पनि पाइन थालेको छ । नेपालमा दर्जन बढी ब्राण्डमा १०० बढी मोडलका मोटरसाइकल उपलब्ध छन् । तीमध्ये क्रुज कन्ट्रोल भएका दुईवटा मोटरसाइल मात्र छन् । जसको हामीले यहाँ चर्चा गरेका छौं ।

नेपालमा उपलब्ध क्रुज कन्ट्रोल भएका मोटरसाइकल हुन् केटीएको ड्युक ३९० र एड्भेन्चर ३९० । नेपालमा केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले यी मोटरसाइकल बिक्री गर्दै आएको छ ।

केटीएम ड्युक ३९० को मूल्य ९ लाख ४९ हजार ९०० रुपैयाँ र एड्भेन्चरको मूल्य १० लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।

केटीएम एड्भेन्चर र ड्युक ३९० दुवैमा क्रुज कन्ट्रोल बाहेक अरू धेरै आधुनिक फिचरहरू दिइएको छ । यिनमा कनेक्टिभिटी सिस्टम, ट्रयाक्सन कन्ट्रोल, क्विक सिफ्टर, स्लिपर क्लच, राइड बाइ वायर थ्रोटल, मल्टिपल राइडिङ मोडहरू, डबल च्यानल एबीएस, कर्नरिङ एबीएस, सुरक्षित ब्रेकिङ सिस्टम, एड्जस्टेबल सस्पेन्सन सेटअप लगायत एड्भान्स फिचरहरू छन् ।

केटीएम एड्भेन्चरमा ३९८.६३ सीसी र ड्युकमा ३९९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, ड्युकमा डीओएचसी र एड्भेन्चरमा एसओएचसी, एफआइ इन्जिन पाउन सकिन्छ ।

दुवै मोटरसाइकलले ३९ एनएमको टर्क जेनेरेट गर्छ । ड्युकको अधिकतम पीएस पावर ४५ छ भने एड्भेन्चरको ४६ रहेको छ ।
स्टील ट्रेलिस फ्रेममा बनेका कारण दुवै मोटरसाइकल चलाउन एकदमै हलुका महशुस हुन्छ ।

के हो क्रुज कन्ट्रोल ?

क्रुज कन्ट्रोल एउटा प्रविधि हो, जसले सवारी साधनलाई स्थिर गतिमा हिँड्न सहयोग पुर्याउँछ । यो प्रविधि पहिले कारमा लोकप्रिय थियो, तर अब मोटरसाइकलमा पनि तीव्र रूपमा फैलिँदै गएको छ ।

क्रुज कन्ट्रोल भएको मोटरसाइकलमा राइडरले बाटोको अवस्था हेरेर गति निर्धारण गर्न सक्छ । क्रुज कन्ट्रोल एक्टिभ भएसँगै राइडरले थ्रोटल निरन्तर घुमाइरहनु पर्दैन, जसले हातको थकान कम गर्छ । हाइवेमा स्थिर, सुरक्षित र आरामदायी यात्रा सम्भव बनाउँछ ।

क्रुज कन्ट्रोलले मोटरसाइकलमा लामो राइड गर्दा कम थकान महसुस गराउँछ । यसको प्रयोगले बाइकको स्पीडमा पनि कन्ट्रोल हुन्छ । यसलाई टीएफटी डिस्प्ले मार्फत सजिलोसँग कन्ट्रोल गर्न सकिन्छ भने बटनमार्फत एक्टिभेट तथा डिएक्टिभेट गर्न मिल्छ ।

नेपालजस्ता पहाडी भू-भागमा लामो स्ट्रेच भेटिने हाइवेमा धेरै सुरक्षित अनुभव प्रदान गर्ने यस फिचरलाई स्मार्ट राइडर-फ्रेण्डली सिस्टम पनि भन्न सकिन्छ ।


Back_to_top