रेनो क्वीडको फेसलिफ्ट मोडल तिहार लगत्तै नेपाली बजारमा प्रबेश गर्ने भएको छ । रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले क्वीडको फेलिफ्ट मोडल ल्याउन लागेको हो ।
माइक्रो एसयूभीको रुपमा बिक्री वितरण भइरहेको रेनोको सर्वाधिक बिक्री हुने क्वीड सन् २०१७ मा नेपाली बजारमा प्रबेश गरेको हो । एसयूभी प्रेरित लुक्स र उच्च ग्राउन्ड क्लियरेन्सले क्वीड सफल भएको हो ।
सन् २०१५ पछि पहिलोपटक पूर्णत फेसलिफ्ट भएको क्वीडमा रहेका विशेषताका बारेमा हामीले तपाईलाई जानकारी दिने प्रयास गरेका छौं ।
फेसलिफ्ट क्वीडमा आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएलएस लगाइएको छ । यसमा अपग्रेटेड १४ इन्चको अलोय ह्वील लगाइएको छ । नयाँ क्वीडको टपस्पेक क्लाइम्बर भेरियन्टमा फ्रन्ट र रियरमा स्किड प्लेटको विशेषता दिइएको छ ।
कम्पनीले यसको फ्रन्ट र रियर साइडलाई निक्कै परिवर्तन गरेको छ । यसको तौल पुरानो मोडलको भन्दा ३५ देखि ४० किलोग्राम बढेको कम्पनीले जनाएको छ । यसको लम्बाई पुरानाको भन्दा ५२ एमएम बढी रहेको छ । यसको बम्परलाई र ह्वीलवेशलाई परिमार्जन गरिएको छ ।

यसको इन्टेरियरमा नयाँ डिजाइनको ड्याशबोर्ड लगाइएको छ । क्विडमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्टेयरिंग ह्वील, ट्राइबरमा लगाइएको लार्ज साइज ८.० इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टमको विशेषता समेटिएको छ ।
रियरमा पावर विन्डो लगाइएको छ भने, फ्रन्टमा प्यासेन्जर एयरब्याग दिइएको छ । यसमा रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, ड्राइभर एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम दिइएको छ ।
पुरानो जस्तै नयाँ फेसलिफ्ट मोडल पनि ०.८ लिटर र १.० लिटर पेट्रोल इन्जिन गरि दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ । यसमा उपलब्ध ८०० सीस क्षमताको इन्जिनले ५४ पिएस पावरका साथै ७२ एनएम टर्क उत्पादन गर्छ । साथै, ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । दुबै इन्जिनमा पाँच स्पीड म्यानुअल ट्रान्समिसन र अटोमेटिक गियरबक्स जडान गरिएको छ ।
रेगुलर मोडलको क्वीड नेपालमा १.० लिटर इन्जिनमा मात्रै उपलब्ध रहेको छ । यसको नेपाली बजारमा मूल्य २१ लाख ९६ हजारदेखि २४ लाख ५८ हजार रुपैयाँसम्म रहेको छ ।

