लाइसेन्स सम्बन्धी सेवा आंशिक रूपमा सुचारु

काठमाडौं । गत भदौ अन्तिम सातादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)सम्बन्धी सेवा आंशिक रुपमा सुचारु भएको छ ।

यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सेवा आंशिक रुपमा सुचारु गरेकाे हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी तथा चतोडफोड हुँदा इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्दा लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा बन्द भएको थियो ।

क्षति पुगेको सर्भर मर्मत गरी आजदेखि विद्युतीय सवारी चालक अनुमतिपत्र (ईडीएल) र सवारी दर्ता (भीआरएस) सेवा आंशिक रुपमा संचालनमा ल्याइएको विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले जानकारी दिए ।

उनका अनुसार आजदेखि काठमाडौं उपत्यकाका एकान्तकुना, राधेराधेमा लाइसेन्स सम्बन्धी सेवा सुरू भएको छ । त्यस्तै, चाबहिल र सानो भर्याङमा सेवा सुचारु गर्न सर्भर परीक्षण भइरहेको उनले बताए ।

अहिले अनलाइन प्रणाली परीक्षण भइरहेकाले अब क्रमशः अन्य कार्यालयहरुमा पनि सेवा सुचारु गरिँदै लगिने उनले बताए । ‘जेनजी आन्दोलनका कारण यातायात व्यवस्था विभागको सर्भरमा क्षति पुग्दा लाइसेन्स सम्बन्धी सम्पूर्ण काम रोकिएो थियो । सर्भर बनाइ आजदेखि आंशिक रुपमा सेवा सुचारु गरेका छौं,’ उनले मेरोअटोसँग भने, ‘अहिले पनि सिस्टम परीक्षण भइरहेको छ । अब क्रमशः देशभरका कार्यालयहरुमा सेवा सुचारु हुनेछ । सम्भवतः मंगलबारसम्म सबै कार्यालयमा सेवा सुरू हुनेछ ।’

उनका अनुसार सेवा सुचारु भएका कार्यालयहरुमा लाइसेन्स नवीकरण, नयाँ आवेदन लगायत काय सुरू भएको छ ।


Back_to_top