काठमाडौं । टोयोटा किर्लोस्कर मोटरले भारतमा महत्वकांक्षी योजना सार्वजनिक गरको छ । कम्पनीले आगामी ५ वर्ष भित्र १० प्रतिशत बजार हिस्सा पुर्याउने लक्ष्य लिएको हो ।
टोयोटाले सन् २०३० सम्म भारतीय बजारमा १५ नयाँ र रिफ्रेस मोडल लन्च गर्ने जनाएको छ । भारतको ग्रामीण बजारमा आफ्नो पहुँच विस्तार गर्ने रणनीति अनुसार उक्त योजना तयार पारेको टोयोटाले उल्लेख गरेको छ ।
चिनियाँ बजारमा कडा प्रतिस्पर्धा झेलिरहेको टोयोटाले भारतमा भने राम्रो नाफा बनाइरहेको छ । टोयोटाका कारको भारतमा बजार हिस्सा ८ प्रतिशत पुगेको छ । भारतमा सुजुकीका कारहरूलाई टोयोटामा ब्याचमा बजारमा उतारिरहेको टोयोटाले अब आफ्नै धेरै मोडल ल्याउने भएको हो ।
जापानी उत्पादकले भारतमा दुई एसयूभी मोडल र एक सस्तो मूल्यको पीकअप पनि ल्याउने उल्लेख गरेको छ । टोयोटाले ल्याउने नयाँ एसयूभीहरू महिन्द्रा र हुन्डाईका बजारमा धेरै बिक्री हुने मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेका हुन् ।
आफ्नो नयाँ लक्ष्य भेट्टाउन टोयोटाले गत वर्ष नै भारतमा नयाँ प्लाण्ट बनाउन ३ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीले अहिले संचालनमा रहेको कर्नाटक प्लाण्टमा नयाँ फेसिलिटी थप्ने र महाराष्ट्रको औरंगावादमा नयाँ प्लाण्ट स्थापना गर्दैछ । यी दुई प्लाण्ट बनेपछि टोयोटाको भारतमा वार्षिक उत्पादन क्षमता १० लाख युनिट पुग्नेछ ।
टोयोटाको नयाँ प्लाण्टमा ग्यासोलिन, हाइब्रिड र अल इलेक्ट्रीक सबै प्रकारका भेहिलकहरू उत्पादन हुनेछ । भारतमा बन्ने कारहरू स्थानीय बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने लक्ष्य कम्पनीले बनाएको छ ।
टोयोटाले गत वर्ष भारतमा ३ लाखभन्दा धेरै भेहिकल बिक्री गरेको थियो । जसमा ६० प्रतिशत मोडलहरू सुजुकीको रिब्याच गरिएका थिए । त्योसँगै भारत टोयोटाको लागि जापान बाहिरको तेस्रो ठूलो बजार बनिसकेको छ ।
अमेरिका र चीनपछि भारतमा टोयोटाले धेरै युनिट गाडी बिक्री गर्दै आएको छ । कम्पनीेले भारतमा उत्पादन गरेका मोडलहरू अफ्रिका र मध्य पूर्वका देशहरूमा समेत निर्यात गर्दै आएको छ ।

