१३ दिनपछि विक्री सुरु हुँदै फुल चार्जमा ४०० किमि चल्ने नेक्सन इभी

काठमाडौं । टाटाले आफ्नो सफल इलेक्ट्रीक एसयूभी नेक्सनको लङ रेन्ज आगामी अप्रिल २० तारिखमा सार्वजनिक गर्ने भएको छ । इलेक्ट्रीक कार उत्पादनमा आक्रमक रणनीति बनाएको टाटाले नेक्सन इभीको रेन्ज बढाएर ल्याउन लागेको हो ।

अहिले बजारमा उपलब्ध नेक्सनमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । कम्पनीले नयाँ फेसलिफ्ट मोडलमा ४० किलोवाट आवरको व्याट्री दिने रिपोर्ट बाहिर आएको छ । नयाँ रेन्जमा उपलब्ध भएसँगै लामो यात्रा गर्नेहरुको रोजाईमा पनि नेक्सन इभी पर्ने देखिन्छ ।

अहिले बजारमा उपलब्ध नेक्सन इभीको एआरएआईले प्रमाणित गरेको रेन्ज ३१२ किलोमिटर भएपनि यसले सडकमा २२० किलोमिटर रेन्ज प्रदान गर्ने चालकहरुले बताउने गरेका छन् । फेसलिफ्ट मोडलले ४०० किलोमिटर भन्दा बढीको रेन्ज दिने दावी गरिएको छ ।

कम्पनीले अन्य फिचरमा कति परिवर्तन गर्छ भन्ने विषयमा कुनै जानकारी बाहिर आएको छैन । यसको मूल्य भने अहिलेको मोडलको तुलनामा केही महंगो हुनेछ ।

सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्दै आएको नेक्सन इभी निकै सफल मोडल बनिसकेको छ । अहिले पनि बजारमा धेरै ग्राहकले यसलाई बुकिङ गरेर बसेका छन् । यस्तोमा रेन्ज बढेर आउने भएसँगै यसको बजारमा प्रभाव बढ्ने अपेक्षा गरिएको छ ।

लङ रेन्जमा आउने नेक्सन इभीको मूल्य रेगुलर मोडलको तुलनामा करिब ५ देखि ६ लाख बढी हुन सक्ने अनुमान गरिएको छ । सिप्रदीले नेक्सन इभी ३७ लाखदेखि ४२ लाखसम्म मूल्य निर्धारण गरेर विक्री गर्दै आएको छ ।


Back_to_top