काठमाडौं । विदेशी मुद्रा संचितिमा दवाव परेको भन्दै राष्ट्र बैंकले ३०० भन्दा धेरै बस्तुको नयाँ एलसी खोल्न रोकेसँगै मोटरसाइकलको नयाँ अर्डर बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले लिखित रुपमा निर्देशन नदिएपनि अहिलेको अवस्था कति लामो समयसम्म चल्छ भन्ने एकिन छैन । यस्तोमा कुन मितिबाट बजारमा नयाँ मोटरसाइकल किन्न पाइदैन अहिल्यै भन्न सक्ने अवस्था छैन । यद्यपि, कम्पनीहरुले नयाँ वर्ष २०७९ को अवसरमा ल्याएको स्कीममा बेच्न भने राम्रै संख्यामा मोटरसाइकल तथा स्कुटर राखेको अनुमान गर्न सकिन्छ ।
अहिले बजारमा १२५ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल र स्कुटर धेरै विक्री हुने गरेका छन् । यस्तोमा मुख्य चल्तीका ब्राण्ड होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो जस्ता ब्राण्डले अहिले स्टकमा रहेका साधन कति समयलाई पुग्नेगरी राखेका होलान् भन्ने जिज्ञासा धेरैमा रहेको पाइन्छ ।
‘अप्रिल महिनामा राख्ने अर्डर पनि अधिकांश कम्पनीले गरिसकेको हामीलाई जानकारी प्राप्त भएको छ । अब अहिलेको अवस्था कति समय चल्छ भन्ने विषयले बजारमा कहिलेसम्म पुग्ने मोटरसाइकल तथा स्कुटर छ भन्ने एकिन हुन्छ’, नाडाका टु ह्वीलर कमिटिका सभापति अभिक ज्योतिले भने ।
नेपालमा विक्री हुने मुख्य मोटरसाइकल ब्राण्ड होन्डा, बजाज, टीभीएस, यामाहा, हिरोले करिब २ देखि ३ महिनाको बजारमा माग धान्न सक्ने अनुमान गर्न सकिन्छ । बैंक तथा वित्तिय संस्थाले कर्जा नदिने भएसँगै बजार माग केही सुस्त हुने र अहिलेको स्टकले करिब करिब जेठ अन्तिमसम्म धान्न सक्ने अनुमान गरिएको छ ।
अहिले नेपालमा १ लाख ५० हजारदेखि १ करोडसम्मका मोटरसाइकल आयात हुँदै आएको छ । सरकारले आयात रोक्न निर्देशन दिएसँगै नयाँ मोटरसाइकल तथा मोटरसाइकलमा प्रयोग हुने पार्टस्हरुको आयातमा समेत बैंकले कर्जा प्रबाह नगर्ने भएको कारण सर्भिसमा पनि चुनौती थपिने खतरा बढेको छ ।


