ईभीमा प्राइस वार : उपभोक्तालाई फाइदा कि भोलिको लागि जोखिम ?

तस्बिर : एआई ।

काठमाडौं । नेपालको कार बजारमा बिरलै सुन्न पाइने प्राइस वार चलेको २ वर्ष भएको छ । सन् २०२४ नाडा अटो शोबाट आधिकारिक चर्चा सुरू भएको प्राइस वारमा जोडिने कम्पनीको सूची लामो बन्दै गएको देखिन्छ ।

विद्युतीय सवारीसाधन बीच कडा प्रतिस्पर्धा चलेसँगै बजारमा प्राइस वारले प्रवेश पाएको हो । चिनियाँ उत्पादक बीच केही ब्राण्ड ठूलो बन्ने दौडमा प्राइस वारमा लागेका छन् भने केही ब्राण्ड बजारमा टिक्नकै लागि प्राइस वारमा सामेल भएका छन् ।

सरकारले ईभीमा कर कम लगाउनु, ईभीको लागि करको मापदण्ड फेरिँदै जानु र लगभग सबै कारमा उस्तै किसिमको फिचर आउन थालेसँगै प्रतिस्पर्धा मूल्यमा पुगेको हो ।

केही वर्ष अगाडिसम्म ३० लाख रुपैयाँ जोहो गरेर कार किन्न हिँडेको नेपाली उपभोक्ताले घर फर्कँदा ४० लाखको कार बुकिङ गर्छ भन्ने थियो । अहिले समय फेरिएको छ । अब ३० लाख लिएर कार किन्न जाने मानिसले २६/२७ लाख रुपैयाँ पर्ने कार किनेर घर जाने अवस्था बनेको हो ।

गाडी बिक्रेता कम्पनीहरूले फिचर र मूल्यमा प्रतिस्पर्धा गर्नु पर्ने अवस्था सृजना भएसँगै नगद छुट, एक्सचेन्ज बोनस, फाइनान्सिङ सुविधा र विशेष अफरसँगै प्रत्यक्ष रूपमा मूल्य घटाउने रणनीति लिएको देखिन्छ ।

झट्ट सुन्दा प्राइस वार उपभोक्ताको लागि फाइदाजनक डिल हो कि जस्तो लाग्छ । तर, यसले समग्र अटोमोबाइल क्षेत्र भित्रको साइकललाई तोड्ने काम गर्छ ।

सस्तो कार, बढी फाइदा

प्राइस वारको सबैभन्दा प्रत्यक्ष लाभ उपभोक्ताले पाउने हुन् । एउटै बजेटमा पहिलेभन्दा राम्रो कार किन्न सकिने अवस्था सिर्जना हुनु उपभोक्ताको लागि आफैँमा राम्रो कुरा हो ।

प्रतिस्पर्धाले कम्पनीहरूलाई ग्राहक आकर्षित गर्न बाध्य बनाउँछ । फलस्वरूप एडास, ३६० डिग्री क्यामेरा, ठूलो इन्फोटेनमेन्ट स्क्रीन, कनेक्टेड फिचर, प्रिमियम इन्टेरियर र ठूलो ब्याट्री भएको कार कम मूल्यमै बिक्री गर्ने ध्याउन्नमा बिक्रेताहरू हुन्छन् ।

प्राइस वारको सबैभन्दा ठूलो असर नयाँ कार किन्ने ग्राहकलाई होइन, केही समयअघि कार किनेका ग्राहकलाई पर्न सक्छ । बजारमा आज ५० लाख रुपैयाँमा किनेको कार अर्को ग्राहकले केही महिनापछि ४५ लाखमै पाउने अवस्था छ ।

यसरी मूल्य घटाउने प्रतिस्पर्धा चल्दा ईभीको रिसेल मार्केट ध्वस्त बनेको हामीले देखिरहेका छौं । यो अवस्थाले बिक्रेताले नयाँ ग्राहकलाई दिएको मूल्य छुटको दायित्व पुराना ग्राहकले व्यहोर्नु पर्ने अवस्था देखिएको छ ।

डिलर र सर्भिस नेटवर्कमा पनि दबाब

कारको मूल्य घट्दा यसको प्रभाव उत्पादक र ग्राहकबीच मात्र सीमित हुँदैन । डिलर नेटवर्कमा समेत यसको प्रत्यक्ष असर पर्छ ।

मूल्य घटेसँगै डिलरको मार्जिन घट्न सक्छ । नाफा घटेपछि नयाँ शोरुम विस्तार, तालिम, सर्भिस पूर्वाधार र स्पेयर पाट्र्समा लगानी गर्ने क्षमता कमजोर हुँदै गएको देखिन्छ ।

विशेषगरी नेपाल जस्तो सीमित बजारमा अहिले कार बिक्री गरेको कुनै ब्राण्ड बन्द भएको खण्डमा त्यसका ग्राहक सबैभन्दा ठूलो समस्यामा पर्ने अवस्था बनेको छ । भोलि ती कारलाई सर्भिस र स्पेयर पाट्र्सको समस्या पर्न सक्छ ।

कार किन्नुलाई केवल गाडी किनेर घर लैजानु मात्रै होइन भन्ने कुरा उपभोक्ताले बुझ्नु पर्छ । कारसँगै वारेन्टी, सर्भिस, स्पेयर पाट्र्स, सफ्टवेयर अपडेट र प्राविधिक सहयोग पनि खरिद गर्दैछु भन्ने कुरा हेक्का राख्नु पर्छ ।

त्यसैले मूल्य मात्रै सस्तो भएको कार किनेपछि कम्पनी नै बजारमा टिकेन भने प्रारम्भिक मूल्य लाभ दीर्घकालमा समस्या बन्न सक्छ ।

त्यसोभए उपभोक्ताले के हेर्ने ?

प्राइस वार चलिरहेका बेला ग्राहकले केवल ‘कति छुट पाइयो ?’ भनेर निर्णय गर्नु हुँदैन । ब्राण्डको दीर्घकालीन उपस्थिति, ब्याट्री र गाडीको वारेन्टी, स्पेयर पाट्र्स तथा सर्भिस नेटवर्क, दोस्रो बजारको सम्भावित मूल्य र कारको वास्तविक प्राविधिक क्षमता तथा सुरक्षामा ध्यान दिनु पर्छ ।

ईभी प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेको छ । ब्याट्री क्षमता, मोटर, चार्जिङ प्रविधि, एड्भान्स ड्राइभर एसिस्ट र सफ्टवेयरमा केही वर्षमै ठूलो परिवर्तन आउन सक्नेछन् । त्यो अवस्थामा पनि तपाईंले किनेको कार सडकमा गुड्न सक्नु पर्छ ।

त्यसैले कारको मूल्य घट्नु आफैंमा राम्रो कुरा हो । प्रतिस्पर्धाका कारण उपभोक्ताले कम मूल्यमा राम्रो उत्पादन पाउनु बजार अर्थतन्त्रको सकारात्मक पक्ष हो । तर, बिक्रेताले गाडी बिक्री गरेर भाग्ने वा व्यवसाय बन्द गर्ने काम भने नगरोस् ।

अन्ततः प्राइस वारको वास्तविक विजेता त्यो बजार हुनेछ । जहाँ कम मूल्यसँगै राम्रो गुणस्तर, बलियो सर्भिस र स्थिर रिसेल भ्यालु कायम हुन्छ ।


Back_to_top