काठमाडौं । विश्वकै ठूलो विद्युतीय कार उत्पादक बीवाइडी अब साना इलेक्ट्रीक कार निर्माणमा आक्रमक बन्ने भएको छ ।
कम्पनीले जापानका लागि मात्रै लक्षित गर्दै बनाएको ‘राको’ इलेक्ट्रीक के कारमा प्रयोग भएको प्रविधिलाई विश्वव्यापी रुपमा लैजाने योजना बनाएको हो ।
कम्पनीले राको प्रविधिमा आधारित साना ईभीहरू युरोप, दक्षिणपूर्वी एसिया र दक्षिण अमेरिकामा बिक्री गर्ने योजना बनाएको हो ।
कम्पनीले राकोमा पहिलोपटक जडान गरिएको आफ्नै इन हाउस विकसित ‘एक्स प्याक’ ब्याट्री प्याक प्रयोग गरेर साना ईभीहरू विकास गर्ने निर्णय गरेको हो । विस्तृत विकासको काम सुरू गर्दै आगामी केही वर्षभित्र यी नयाँ मोडलहरूलाई बजारमा ल्याउने योजना बनाएको निक्केईको चिनियाँ भाषाको वेबसाइटले उल्लेख गरेको छ ।
कम्पनीको राको प्रविधिको मुख्य विशेषता भनेकै भोल्टेज परिवर्तन गर्ने इनभर्टरसहितका प्रमुख इलेक्ट्रीकल कम्पोनेन्टहरूलाई ब्याट्री प्याकमै एकीकृत गरी गाडीको भुइँमुनि जडान गरिनु हो ।
परम्परागत डिजाइनहरूमा यी कम्पोनेन्टहरू प्रायः गाडीको अगाडि इन्जिन कम्पार्टमेन्टमा राखिने हुँदा साना गाडीहरूमा क्याबिनको ठाउँ र दुर्घटनाको असर सोस्ने ठाउँ सीमित हुने रिपोर्टमा उल्लेख छ । यही प्रविधिको बलमा बीवाइडीले के कारका लागि तोकिएका कडा आकार सीमाभित्रै यात्रुको ठाउँ र सुरक्षाबीच सन्तुलन कायम गर्न सफल भएको छ ।

जापानले के कारको लम्बाइ ३.४ मिटर, चौडाइ १.४८ मिटर र उचाइ २ मिटर तोकेको छ । जसले गर्दा विद्युतीय मोडलहरूमा ब्याट्री र विद्युतीय प्रणालीहरू व्यवस्थापन गर्न झनै चुनौतीपूर्ण हुन्छ । यो योजनाले जापानको विशिष्ट बजारका लागि विकसित गरिएको ठाउँ बचाउने प्रविधिलाई बीवाईडीको विश्वव्यापी साना ईभी लाइनअपका लागि एउटा सम्भावित प्रतिस्पर्धात्मक फाइदामा परिणत गर्नेछ ।
युरोपमा किफायती साना ईभीको बढ्दो मागले पनि बीवाइडीको यो प्रविधिको प्रयोगका लागि नयाँ बाटो खोलेको छ । युरोपेली युनियनले सन् २०२५ मा जापानको के कार मापदण्डमा आधारित नयाँ गाडी श्रेणी ल्याउने निर्णय गरेको निक्केईले जनाएको छ ।
त्यस योजनाअन्तर्गत ईयूमा उत्पादन हुने र ४.२ मिटरभन्दा बढी लम्बाइ नभएका साना ईभीहरूले अनुदान र नियामक आवश्यकताहरूमा प्राथमिकता पाउन सक्नेछन्। बीवाइडीले युरोपमै एक्स प्याक प्रविधियुक्त साना ईभीहरू उत्पादन गर्न सक्छ । सन् २०२६ देखि उत्पादन सुरू हुने तालिका रहेको हंगेरीको प्लाण्टले यसका लागि सम्भावित उत्पादन आधार गर्छ ।
साथै, कम्पनीले राको प्रविधिमा आधारित साना ईभीहरू किफायति र कम्प्याक्ट गाडीको माग उच्च रहेको दक्षिणपूर्वी एसिया र दक्षिण अमेरिकामा बिक्री गर्न सक्छ ।
कम्पनीले जापानका लागि विशेष रुपमा निर्माण गरेको राको गत जुलाई २८ मा लन्च गरेको थियो । राकोको लम्बाइ ३,३९५ एमएम, चौडाइ १,४७५ एमएम र उचाइ १,८०० एमएम छ।
यसको इन्ट्री लेभल भेरियन्टमा २२.४ किलोवाट आवरको र टप भेरियन्टमा ३५.८४ किलोवाट आवरको ब्याट्री छ । जसले क्रमशः २१० किलोमिटर र ३२० किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ । कम्पनीले राकोको सुरूआती मूल्य साढे १३ हजार तोकेको छ ।
बीवाडीको राको कार नेपालका लागि पनि उपयुक्त देखिन्छ । सहरी क्षेत्रमा भरपर्दो मिनीकार खोज्नेलाई नयाँ विकल्प बन्न सक्छ ।


