काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएसँगै मालवाहक कन्टेनरहरू कोरलातर्फ डाइभर्ट हुन थालेका छन् ।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवागढी-केरुङ भन्सार, सडक, पुल लगायत सबै संरचना ध्वस्त बनाएपछि चीनतर्फ रहेका कन्टेनरहरू धमाधम कोरलातर्फ डाइभर्ट हुन थालेका हुन् ।
सरकारले पनि रसुवा हुँदै नेपाल ल्याउन लागिएका मालवस्तु कोरला नाकाबाट जाँचपास गर्न पाउने गरी सहजीकरण गरेको छ । साथै, मुस्ताङ भन्सार कार्यालयमा हेल्प डेस्क समेत स्थापना गरेको छ ।
रसुवागढी बन्द भएपछि व्यवसायीहरूले दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी ल्याउन लागिएका सामान कोरलाबाट ल्याउन थालेका हुन् ।
सशस्त्र प्रहरीको जोमसोमस्थित चेकपोष्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको संखया वृद्धि भइरहेको जनाएको छ । आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण संकलन गरिएको चेकपोष्टले जनाएको छ ।
मालवाहक कन्टेनर बढ्न थालेसँगै मुस्ताङ भन्सारमा चाप बढेको छ । यस कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेकोमा हाल १२ जना मात्रै कर्मचारी कार्यरत रहेको कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए ।
गत वर्ष बाढीपहिरोले तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि सरकारले नियमित रुपमा मुस्ताङ भन्सार कार्यालय संचालनमा ल्याएको थियो । गत आवमा यस कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यस नाका हुँदै करिब ३ हजार विद्युतीय सवारी साधन भित्रिएका थिए । यसैगरी, चालु आवको पहिलो साउन महिनामा २९ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।


