बिटोन इलेक्ट्रीक कम्पनीले करिब २४ महिना पहिले सन् २०१८ को कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पोमा सार्वजनिक गरेको आफ्नो पहिलो ‘एम–बाइट’ इलेक्ट्रीक एसयूभीको उत्पादन सुरु गर्ने भएको छ । कम्पनीले हिजोबाट अमेरिकाको लसभेगासमा सुरु भएको कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०२० मा यसको आधिकारीक जानकारी गराएको हो ।
सुरुमा कम्पनीले एम–बाइट एसयूभीलाई देखाउँदा अबलोकनकर्ताले यसको प्रडक्सन मोडल सम्भव नभएको प्रतिकृया दिएका थिए । अब समय फेरिएको छ । कम्पनीले देखाए अनुसारकै गाडी उत्पादन हुने भएको हो ।
कम्पनीले यसको ड्यासबोर्डमा ४८ इन्चको ठूलो स्कृन दिएको थियो । यसलाई लिएर विभिन्न टिका टिप्पणी भएकोमा अब भने कम्पनीले कन्सेप्टमा जस्तै हुनेगरी नयाँ एसयूभी सार्वजनिक गर्ने भएको हो ।

अबको दुनियाँ डिजिटल दुनियाँ भएको दाबी गर्दै कम्पनीले कन्सेप्टभन्दा उत्कृष्ट एसयूभी ग्राहकलाई दिने जनाएको छ । उक्त डिस्प्लेमा निम्न प्रकारका सुविधा पाउन सकिने कम्पनीको दाबी छ ।
भायोकम सिबिएस र एसेस कनेक्ट सिस्टम, एक्यूवेदर, एक्वीडियो, क्लाउड कार, रोड ट्राभल, एक्स्पेरी जस्ता अत्याधुनिक फिचर यसको स्कृनमा सपोर्ट गर्ने जनाइएको छ ।
बिटोन डेभलपर प्रोग्राम अन्तर्गत डिजाइन भएको यो कारमा मनोरञ्जन, हेल्थ, उत्पादकत्व, इकर्मश जस्ता सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।
कम्पनीले मे २०२० बाट यसलाई चिनीयाँ बजारमा बिक्री सुरु गर्ने जानकारी समेत दिएको छ । उक्त कारको सुरुवाति मूल्य ४५ हजार डलर तोकिने अनुमान गरिएको छ ।
उक्त एसयूभीमा ७२ र ९५ किलोवाट आवरको दुई अप्सनमा व्याट्री प्याक दिइएको छ भने एक पटकको फुल चार्जमा ३५० र ४५० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

