नारायणगढ-मुग्लिन सडक थप दुई दिन बन्द हुने

 

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ ।सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ ।

गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरीे काम हुँदै आइरहेको छ । सो कार्य नसकिएको हुँदा भोली दिउँसो पनि सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए।

दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भए पनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको उनले बताए । सो अवधिमा अत्यावश्यक सवारी साधनलाईे प्रवेश दिइनेछ । सडकखण्डको आठ ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिनेछन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ ।


Back_to_top