महेन्द्राको एक्सयूभी-७००ले टोयोटा फर्चुनरसँग गर्ला प्रतिस्पर्धा ?

भारतीय कार निर्माता कम्पनी महेन्द्राले नयाँ एक्सयूभी-७०० सार्वजनिक गर्ने तयारी गरेको छ । यही वर्षको अन्त्यसम्ममा बजारमा ल्याउन लागिएको एक्सयूभी-७०० को सिधा प्रतिस्पर्धा टोयोटा फर्चूनरसँग हुने अनुमान लगाउन थालिएको छ । 

मिडिया रिपोर्टकाअनुसार, महेन्द्राले आफ्नो नयाँ गाडी स्याङ्योङ रेक्स्टनको प्ल्याटफर्ममा आधारित हुने बताएको छ । यसलाई कम्पनीले स्याङ्योङ रेक्स्टन जी–४ को नयाँस्वरुप भनेको छ । 

कम्पनीले महेन्द्रा एक्सयूभी–७०० लाई यसै वर्ष भएको दिल्ली अटो एक्स्पोमा प्रदर्शन गरेको थियो । सात सिट क्षमता रहेको एक्सयूभी–७०० कोरियन प्रिमियम एसयूभी रेक्स्टनको परिष्कृत मोडल हो । 

यो नयाँ एक्सयूभीमा हाई ग्राउन्ड क्लियरेन्सकासाथै फोरह्वील ड्राइभ दिइनेछ । यसको इन्टेरिएर निकै आकर्षक निर्माण गरेको कम्पनीले जनाएको छ । साथै, ड्राइभर तथा प्यासेञ्जरहरूका लागि सहज र सुरक्षित हुने विशेषतामा कुनै सम्झौता नभएको कम्पनीको दाबी रहेको छ । 

यस्ता छन् फिचर

एक्सयूभी–७०० को अगाडिमा इलेक्ट्रीकल एड्जस्टेवल सिट दिइएको छ भने ९.२ इञ्च इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । यसको पछाडिको भागमा प्यासेञ्जरका लागि १०.१ इञ्चको स्क्रिनसमेत दिइएको छ ।

यस कारमा ड्यूलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम तथा एम्बीएन्ट लाइटिङ्गका साथसाथै सुरक्षाका लागि सात एयरब्याग, एबीएस, ईबीडी, ट्राक्सन कन्ट्रोलजस्ता विशेषताहरू दिइएको छ ।

इञ्जिन 

नयाँ महेन्द्रा एक्सयूभी–७०० मा २.२ लिटर फोर सिलिन्डर टर्वो इञ्जिन दिइएको छ । जसमा लगाइएको इञ्जिनले १७८ बीएचपी पिकपावरका साथै ४२० एनएम पिकटर्क उत्पादन गर्छ । यस कारमा सात स्पीड अटोमेटिक गियरबक्स जडान गरिएको छ । 

प्रतिस्पर्धा

अधिकांश फिचरहरू टोयोटा फर्चूनरसँग प्रतिस्पर्धा हुने यो एक्सयूभीको मूल्य भारतीय बजारमा फर्चूनरभन्दा करिब पाँच लाख रुपैयाँ सस्तो हुने अनुमान लगाइएको छ । भारतमा फर्चूनरको औसत मूल्य २६ लाख ६४ हजार रुपैयाँ रहेको छ ।


Back_to_top