काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट प्रालिले चैत अन्तिमसम्ममा नयाँ एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाल ल्याउने नयाँ एसयूभी बोलेरो नियो हो ।
महिन्द्राले यसअघि विक्री गर्दै आएको बलेरो एसयूभी अहिले उत्पादन हुँदैन । त्यसकै स्थानमा कम्पनीले बलेरो नियो ल्याउन लागेको हो । बोलेरो नियो ५ महिनाअघि भारतमा विक्री सुरु भएको हो ।
‘हामीले चैतमा नेपाल ल्याउनेगरी तयारी गरिरहेका छौं । सम्भवत चैतमा बोलेरो नियो नेपालमा विक्री सुरु हुन्छ’, अग्नी स्रोतले मेरोअटोसँग भन्यो ।
बलेरो नियोलाई टियुभी ३०० को फेसलिफ्ट मोडल पनि भनिन्छ । कम्पनीले टियूभी ३०० मा परिमार्जन गर्दै मोडल नेम परिवर्तन गरेर बोलेरो नियो बनाएको हो ।
नयाँ बोलेरो नियो डिउल टोन कलरमा उपलब्ध हुनेछ । नयाँ बोलेरोमा बोनेट, रुफ तथा पिल्लरमा रातो रंगको प्रयोग भएको छ । तर, बम्पर भने यसको ग्रे कलरको रहेको छ । नयाँ हेडल्याम्प, अगाडिको बम्पर, १५ इन्चको अलोय ह्वील, पछाडि टेलगेटमा दिइएको स्पेयर टायर जस्ता परिमार्जन यसमा देख्न सकिन्छ । साथै, गाडीको डिजाइनमा प्रयोग भएका फरक फिचरले यसलाई बोल्ड बनाएको छ ।

बोलेरो नियोमा भित्रको अधिकांश फिचर पहिलेकै टियूभी ३०० बाटै प्रयोग गरिएको छ । ड्यासबोर्ड, टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, सिट लगायतका फिचरलाई निरन्तरता दिइएको छ । यसमा नयाँ इन्ट्रुमेन्ट क्लष्टरको प्रयोग गरिएको छ भने पछाडिको सिटमा आर्मरेष्ट थप गरिएको छ ।
महिन्द्राले बलेरो नियोमा १.५ लिटर टर्बो डिजेल इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले १०० पीएस पावर र २४० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्स पाउन सकिन्छ ।

