अबको ५ महिनामा महिन्द्राका ३ नयाँ गाडी आउँदै

केही दिन अगाडि मात्रै एक्सयूभी ५०० को फेसलिफ्ट भर्सन सार्वजनिक गरेको महिन्द्रा कम्पनीले यही वर्ष ३ वटा नयाँ गाडी सार्वजनिक गर्ने भएको छ । भोलि सेप्टेम्बर ३ मा कम्पनीले माराजो मल्टी प्रपोज भेइकल (एमपीभी) सार्वजनिक गर्ने तयारी गरेको छ । 

कम्पनीले त्यसपछि भने अन्य २ एक्सयूभी यही आर्थिक वर्षमा ल्याउने कुरा जानकारी दिइसकेको छ । भारतको सबैभन्दा ठूलो युटिलिटी भेइकल निर्माण कम्पनी महिन्द्राले ल्याउने अन्य २ नयाँ गाडीमा प्रडक्सन कोड नेम एस२०१ (एक्सयूभी ३००) र एक्सयूभी ७०० रहेको जनाएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक पवन गोयनकाले मल्टी प्रपोज भेइकल (एमपीभी) मराजो ३ सेप्टेम्बरमा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले कम्पनीले स्याङयोङ टिबोलीमा आधारित ४ मोडल चाँडै सार्वजनिक गर्ने तयारी गरेकोसमेत जानकारी दिए । 

‘महिन्द्राको लागि यो वर्ष निक्कै शानदार हुनेछ । ग्राहकले नयाँ उत्पादन देख्न पाउने छन् । तीन वटै नयाँ मोडलबाट निक्कै अपेक्षा राखेका छौं’ गोयनकाले भने । उनले एक मोडलको तुलनामा अर्कोे मोडल फरक र आकर्षक रहेकोसमेत दावी गरे ।

साथै कम्पनीले ल्याउने नयाँ गाडीमा कम्प्याक्ट एसयूभी ‘एक्सयूभी ३००’ र प्रिमियम एसयुभी ‘एक्सयूभी ७००’ रहेको छ । यी गाडीको बिक्रीसुरु गरेसँगै हरेक महिना ८ हजार युनिटको दरले आफ्नो बिक्री बढाउने गोयनकाले बताए । 


Back_to_top