काठमाडौं । महिन्द्राको चर्चित एमपीभी मराजो नेपाली बजारमा सार्वजनिक भएको छ । महिन्द्राको नेपालको लागि आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेटले ‘महिन्द्रा उदय’मा मराजोलाई सार्वजनिक गरेको हो ।
कम्पनीले मराजोको मिड र टप भेरियन्टलाई नेपाली बजारमा बिक्री सुरु गरेको छ । नयाँ एमपीभीको मूल्य ५५ लाख रुपैयाँदेखि ६३ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
निकै चर्चामा रहेको महिन्द्राको नयाँ एमपीभी मराजो भारतीय बजारमा भने पाँच महिना अगाडिबाटै बिक्री वितरण भइरहेको छ ।
यसको डिजाइन सार्क माछाबाट प्रेरित भएको र कारको केही भागहरू शिकारी माछाको रुपमा डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ ।
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, दुई एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।

मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कारमा तीन–स्पोक स्टेयरिङ्ग ह्वील पनि जडान गरिएको छ, जुन अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रूज कन्ट्रोलको लागि रहेको छ ।
महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले १२१ एचपी पावर र ३०० एनएम–टर्क प्रदान गर्छ । म्यानूअल ट्रान्समिसनको साथमा उपलब्ध रहेको छ ।
महिन्द्राले काठमाडौंको भृकुटीमन्डपमा नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ गरिरहेको छ ।

