होन्डा, यामाहा र हिरोले अगामी महिना आ–आफ्नो नयाँ मोडललाई बजारमा उतार्ने भएका छन् । भारतीय बजारमा सर्वाधिक युनिट बाइक बेच्ने कम्पनी हिरोले आफ्नो नयाँ बाइक ‘एक्सपल्स–२०० टी’को बिक्री सुरु गर्नेछ ।
त्यसैगरी होन्डाले आफ्नो ‘सिबीआर ६५०–आर’को बिक्री मार्च महिनाबाटै सुरु गर्ने तय गरेको छ भने यामाहाले बुकिङ लिन सुरु गरेको आफ्नो नेकेड बाइक ‘एमटी–१५’ समेत आगामी महिना बजारमा उतार्ने छ ।
यस्तोमा यी ठूला बाइक उत्पादक कम्पनीले आफ्नो उत्पादन बजारमा ल्याउनु अघिनै हामीले जानकारी दिने प्रयास गरेका छौं ।
एक्सपल्स २००–टी
हिरो मोटोकर्पले आगामी महिना आफ्नो टुरिङ भर्सन बाइक एक्सपल्स २००–टी बजारमा ल्याउने तयारी गरेको छ । १९८ सीसी सिंगल सिलिन्डर २ भल्व इन्जिन दिइएको यो बाइकले १८.१ बीएचपी पावर र १७.१ एनएम पिकटर्क जेनेरेट गर्छ ।

भारतीय बजारमा यसको मूल्य १ लाख ५ हजार रुपैयाँ तोकिने आाकलन गरिएको छ ।
नेपाली बजारमा हिरोका उत्पादन जनरल मार्केटिङले बिक्री वितरण गर्दै आएको छ । संभवत नेपाली बजारमा यो बाइक चाँडै आउने छ ।
होन्डा सिबीआर ६५०–आर
होन्डाले नयाँ जेनेरेशन सिबीआर ६५० आरलाई केही महिना अगाडि भएको इआईसीएमए मोटर शोमा शोकेस गरेको थियो । अब भने यसलाई बजारमा उतार्ने तयारी सुरु गरेको छ । स्पोर्टी लुक्समा अपग्रेड गरिएको यो बाइकमा ६४९ सीसी इनलाइन फोर सिलिन्डर इन्जिन दिइएको छ । ९३ बीएचपी पावर र ६४ एनएम टर्क जेनेरेट गर्ने बाइकको मूल्य भारतीय बजारमा ८ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

नेपालमा होन्डाको आधिकारीक बिक्रेता स्याकार कम्पनी हो । यस बाइकका बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
यामाहा एमटी–१५
यामाहाले एमटी–१५ को प्रि–बुकिङ सुरु गरिसकेको छ । यस्तोमा कम्पनीले आगामी मार्च १५ मा उक्त नयाँ बाइक सार्वजनिक हुने आँकलन गरिएको छ ।
१५५ सीसी सिंगल सिलिन्डर लिक्विड–कुल्ड इन्जिन यूक्त बाइकले १९ बीएचपी पावर र १५ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियरबक्सका साथ आउने उक्त बाइकमा एबीएस सुविधा उपलब्ध हुनेछ । भारतीय बजारमा यसको मूल्य १ लाख २० हजार हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा यामाहाका उत्पादन एमएडब्ल्यु इन्टरप्राइजेजले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भारतीय बजारमा सार्वजनिक भएको केही महिना पछि नेपाली बजारमा उक्त बाइक ल्याउने जनाएको छ ।


