पूर्ण नयाँ डिजाइनमा देखियो महिन्द्रा ‘रक्सोर एसयूभी’

काठमाडौं । महिन्द्राले आफ्नो आईकोनिक मोडल ‘रक्सोर’को सन् २०२२ मोडल उत्तर अमेरिकामा सार्वजनिक गरेको छ । महिन्द्राले अमेरिकी बजारमा जीपको डिजाइन चोरेर निर्माण गरेको भन्दै परेको मुद्दाको किनारा लागेको लामो समयपछि पुरानो डिजाइनमा व्यापक परिमार्जन गर्दै नयाँ मोडल बजारमा ल्याएको हो ।

सन् २०१९ देखि नै कम्पनीले उत्तर अमेरिकामा रक्सोरको विक्री गर्न पाएको थिएन । त्यहि वर्षको अन्त्यमा महिन्द्रालाई बजारमा उपस्थिति जनाउन कोटले अधिकार दिएको भएपनि कम्पनीले रक्सोरको पूर्ण डिजाइन परिमार्जन गरेर मात्र बजारमा ल्याएको हो ।

नयाँ डिजाइनमा जीपबाट लिएको फ्रन्ट ग्रिल पूर्णरुपमा हटाइएको छ । कम्पनीले निकै लामो र फराकिलो नयाँ ग्रिलको प्रयोग गरेर यसलाई बजारमा ल्याएको हो । नयाँ डिजाइनमा यो गाडी निकै फ्रेस देखिएको छ ।

महिन्द्राले यसमा २.५ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६४ हर्स पावर र १९५ एनएम टर्क प्रदान गर्छ । गाडीको उच्चगति क्षमता १३५ किलोमिटर प्रतिघन्टा रहेको छ । रक्सोरमा दुई गियरबक्स छनोट उपलब्ध रहेको छ । जसमा ५ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटीक रहेका छन् ।

यसको भारवहन क्षमता निकै उत्कृष्ट रहेको छ । यसले १५८३ किलोग्राम भार बोक्न सक्नेछ ।


Back_to_top