स्कर्पियो एन र महिन्द्राको नयाँ लोगो नेपालमा सार्वजनिक

काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित मोडल स्कर्पियोको नयाँ मोडल नेपालमा सार्वजनिक भएको छ । पूर्णत आधुनिक डिजाइन, हाइटेक सुरक्षा फिचर, सुरक्षाको हिसाबले अब्बल दाबी गरिएको स्कर्पियो एन निकै आकर्षक देखिन्छ ।

स्कर्पियो बजारमा आएको २० वर्ष पुरा भएको छ । पहिलो पटक सन् २००२ मा आएको स्कर्पियोले ठिक २० वर्षपछि आफ्नो रुप परिवर्तन गरेको छ । त्यसैले त कम्पनीले यसलाई नयाँ ठाउँमा उभ्याउने कोशिस गरेको हो ।

महिन्द्राको लागि स्कर्पियो र नेपाली बजार कति महत्वपूर्ण थियो भन्ने कुरा लञ्चिङ कार्यक्रममा आएका महिन्द्रा एण्ड महिन्द्राका अटोमोटिभ डिभिजन अध्यक्ष विजय नाकराको भनाइबाटै प्रस्ट हुन्छ ।

स्कर्पियो एन सार्वजनिक कार्यक्रममा प्रोडक्टको प्रेजेन्टेशन गर्दै नाकराले भने, ‘हामीले स्कर्पियो एनलाई भारत, नेपाल र साउथ अफ्रिकाबाट एकै पटक सार्वजनिक गरेका छौं । स्कर्पियो भारतपछि सबैभन्दा धेरै विक्री हुने अन्तर्राष्ट्रिय बजार नै नेपाल हो ।’

नेपालमा स्कर्पियोको यात्रा स्मरण गर्दै अग्नी इनकर्पोरेट प्रालिका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले नेपालका हरेक कुना काप्चामा स्कर्पियोको उपस्थिति रहेको र भोलिका दिनमा यो अझै बढ्ने विश्वास ब्यक्त गरे ।

‘हामी नेपाले नेपालमा ३० वर्ष पुरा गरेका छौं । यो अवधिमा हामीले सबैभन्दा बढी चिनाएको स्कर्पियोले हो । सन् २००४/०५ देखि नै स्कर्पियोले नेपालमा बलियो उपस्थिति जनाउन सफल भएको छ । अब समय फेरिएको छ । परिवर्तित समयमा स्कर्पियोले थप सफलता पाउने अपेक्षा गरेका छौं’, श्रेष्ठले भने ।

कार्यक्रममा स्कर्पियोसँगै महिन्द्राले एसयूभीको लागि तयार गरेको नयाँ ‘ट्विन पिक्स लोगो’ पनि सार्वजनिक भएको छ । भारतमा एक्सयूभी ७०० बाट सुरु भएको ‘ट्विन पिक्स लोगो’ नेपालमा भने पहिलो पटक स्कर्पियो एन मार्फत सार्वजनिक भएको हो । नयाँ लोगो स्कर्पियोमा निकै उत्कृष्ट देखिएको छ ।


Back_to_top