भारतमा रोयल इनफिल्डको आक्रमक मुभ, नेपालमा भने भन्सार बढ्दा समस्या

काठमाडौं । दोस्रो विश्व युद्धको समयमा सेनालाई सेवा दिएसँगै प्रसिद्धी कमाएको रोयल इनफिल्ड अहिले भारतमा मात्रै उत्पादन हुँदै आएको छ । सन् १९०१ बाट मोटरसाइकल उत्पादन सुरु गरेको रोयल इनफिल्ड बेलायती ब्राण्डबाट अहिले इन्डियन मल्टीनेशनल ब्राण्डमा रुपान्तरण भइसकेको छ ।

रोयल इनफिल्डले धेरै नयाँ प्रडक्ट बजारमा उतार्ने तयारी गरिरहेको छ । रोयल इनफिल्डले ३५० सीसी र ६५० सीसी सेग्मेन्टमा भारतीय बजारमा राज गर्दै आएको छ । कम्पनीले यही सेग्मेन्टमा अझै आफुलाई बलियो बनाउनका लागि नयाँ नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले आगामी अगष्टमा नयाँ मोटरसाइकल बजारमा ल्याउने अनुमान गरिएको छ । साथै, कम्पनीले हन्टर ३५० तथा बुलेट ३५० को नयाँ जेनेरेशन समेत ल्याउने संकेत गरेको छ । त्यस्तै कम्पनीले ४५० सीसी स्क्रयाम्वलर तथा एड्भेन्चर टुरर मोटरसाइकल आगामी वर्ष ल्याउने गरी तयारी गर्दै आएको छ ।

नयाँ मोटरसाइकको बारेमा कम्पनीले नयाँ खुलासा गरेको छ । विगतमा लामो समयदेखि बजारमा विक्री गर्दै गरेको मोटरसाइकल थन्डरवर्ड २ वर्ष अघि उत्पादन रोकिएको थियो । उक्त मोटरसाइकल मेटीअर नाममा आएको छ ।

हालै, मात्र सडकमा परिक्षण भइरहेको ६५० सीसी मोटरसाइकलको नाम सुपर मेटीअर तथा सटगन ६५० भनेर अनुमान भइरहेको समयमा कम्पनीले नयाँ खुलासा गरेको हो । कम्पनीको आधिकारीक सर्भिस पेज बुलेट गुरुले नयाँ ६५० सीसीको मोटरसाइकलको नाम थन्र्डरवर्ड ६५० हुने खुलासा गरेको हो ।

बुलेट गुरुका अनुसार नयाँ आउने मोटरसाइकलको नाम थन्र्डरवर्ड एक्स ६५० हुनेछ । कम्पनीको वेवसाइटमा यो डकुमेन्ट झुक्किएर पोस्ट भएको अनुमान गरिएको छ । डकुमेन्ट सार्वजनिक भएको केही समयमा नै उक्त डकुमेन्ट हटाइएको थियो ।

कम्पनीले थन्र्डरवर्ड ६५० मा ६५० सीसी प्यारलल ट्वीन इन्जिन दिनेछ । यो इन्जिन कम्पनीले इन्टरसेप्टर ६५० र कन्टिनेन्टल्स ६५० मा प्रयोग गरिसकेको छ ।

यो इन्जिनले ४७ बीएच पावर तथा ५२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ भने यसमा स्लीपर क्लच पाउन सकिन्छ ।

हालै मात्र टेष्टिङको क्रममा देखिएको मोटरसाइकल उत्पादनको लागि तयारी अवस्थामा देखिएको थियो । कम्पनीले यसलाई इक्मा अटो शो २०२२ मा सार्वजनिक गर्ने तयारी गरिहेको अनुमान गरिएको छ । ग्लोवल ब्राण्ड भएका कारण रोयल इनफिल्डले हरेक वर्ष इक्मा अटो शोमा केही न केही नयाँ प्रर्दशन गर्दै आएको छ ।

नेपालमा भने सरकारी राजस्व वृद्धि भएको कारण रोयल इनफिल्डको निकै कठिन दिनहरु सुरु भएका छन् । सरकारले यसअघि लाग्दै आएको ३० प्रतिशत भन्सारलाई बढाएर ७० प्रतिशत पुर्याएको कारण रोयल इनफिल्डको मूल्य आकाशिएको हो ।


Back_to_top