केटीएमका एड्भेन्चर मोटरसाइकल सोल्ड आउट, अब मूल्य बढेर आउने

काठमाडौं । बजेटले २५० सीसी माथिका मोटरसाइकलमा ४० प्रतिशतले भन्सार वृद्धि गरेसँगै केटीएमका एड्भेन्चर मोटरसाइकलको मूल्य बढ्ने भएको छ । केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले केटीएम २५० र ३९० एड्भेन्चर विक्री गर्दै आएको छ ।

अहिले केटीएमको एड्भेन्चर मोडसाइकल सबै सोल्ड आउट रहेको कारण यसलाई किन्न चाहने ग्राहकले अझै केही समय कुर्नु पर्ने भएको छ । एड्भेन्चर मोटरसाइकलको बढ्दो क्रेज र बढेको करको कारण ग्राहकले अब एउटै मोटरसाइकलमा १ लाख रुपैयाँसम्म बढी तिर्नु पर्ने अवस्था आएको हो ।

ग्राहकहरुले रुचाएको केटीएम २५० एड्भेन्चर मोटरसाइकल सोल्ड आउट भएको छ । कम्पनीका अनुसार केटीएम २५० एड्भेन्चर नेपालभर रहेको केटीएमको सबै शोरुममा सोल्ड आउट भएको हो ।

बजेटमार्फत कर बढेता पनि कम्पनीले एड्भेन्चर २५० र ३९० पुरानै मूल्यमा उपलब्ध गराएको थियो । यसको फाइदा ग्राहकले समयमा नै लिएको कम्पनीको भनाइ छ ।

अब कहिले आउँछ ?

कम्पनीका अनुसार केटीएम २५० र ३९० एड्भेन्चरको नयाँ लट आउने मिति तय भएको छैन ।

‘हामीले कम्पनीसँग कुरा गरिरहेका छौं । तर, कुन मितिमा मोटरसाइकल आइपुग्छ भन्ने कुरा अझै टुङ्गो लागेको छैन । सम्भवत एक महिना भित्र नयाँ मोटरसाइकल आइपुग्न सक्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कति बढ्ला मूल्य ?

केटीएम मोटरसाइकलको लागि नेपालको आधिकारि विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले हालै मात्र केटीएम २०० मा २० हजार रुपैयाँ र केटीएम २५० ड्यूकमा ८० हजार रुपैयाँ वृद्धि गरेको थियो ।

केटीएम २५० एड्भेन्चरको नयाँ लटमा आउँदा कम्तिमा १ लाख रुपैयाँ र केटीएम ३९० ड्यूकको मूल्य १ लाख ५० हजार रुपैयाँसम्मले मूल्य वृद्धि हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top