काठमाडौंबाट हेटौंडा जाने सडकमा सवारी चाप, ओभरटेक नगर्न अनुरोध

काठमाडौं । नागढुंगा मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरमा सडक पूरै बगेपछि वैकल्पिक सडकमा सवारी साधनको चाप बढेको छ ।

कृष्णभीरमा नदी कटानले सडक बगाएपछि सवारी साधनहरु वैकल्पिक सडक हुँदै काठमाडौं आउजाउ गर्न थालेका हुन् । जसकारण ती सडकहरुमा सवारी चाप बढेको हो ।

अहिले मकवानपुर हुँदै काठमाडौं जाने सडक खण्डमा सवारीसाधनको चाप बढेको छ । कान्ति लोकपथ, काठमाडौं देउराली हेटौंडा र त्रिभुवन राजपथमा सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । साथै, गल्छी-कल्लेरीटार-सुनौलोबजार-धादिङबेसी-आरुघाटबाट सडकमा पनि सवारी चाप बढेको छ ।

सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले ६ बुँदे निर्देशन नैै जारी गरेको छ ।

प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँतर्फको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ ।

त्यस्तै, प्रशासनले सम्पूर्ण मालबाहक सवारी साधनहरू कान्ति लोकपथ हुँदै, १४ सिट क्षमताभन्दा ठूला यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने तथा सोही मार्गबाट फर्कन र १४ सिटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनहरू भीमफेदी-देउराली हुँदै काठमाडौँतर्फ जाने तथा आउने गर्न अनुरोध गरेको छ ।

काठमाडौंबाट त्रिभुवन राजपथ हुँदै हेटौंडातर्फ आउने सबै सवारी साधनहरु राती १ बजे सम्म हेटौंडा पुगिसक्ने र हेटौंडाबाट त्रिभुवनराजपथ हुँदै काठमाडौं जाने सवारी साधनहरु राती १ बजे पछि मात्र जान प्रशासनको अनुरोध छ ।

कुनै पनि राजमार्गमा सवारी चालकहरूले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्ने, ओभरटेक नगर्ने तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीरट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।


Back_to_top